चाँगुनारायणका वडाहरुमा ज्येष्ठ नागरिक मिलन चौतारी गठन

पूर्नगठन, सहारा परियोजना सम्बन्धि अभिमुखिकरण र योजना संकलन कार्यक्रम सञ्चालन

40

चाँगुनारायण । चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिक मिलन चौतारी गठन÷पूर्नगठन, स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजना सम्बन्धि अभिमुखिकरण र योजना संकलन कार्यक्रम सञ्चालन गरिरहेकोछ ।
आज यसै अन्र्तगत चाँगुनारायण नगरपालिकाको वडा नं २ दुवाकोटमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ । २ नं वडाका वडा अध्यक्ष सोम प्रसाद प्रधानको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वडा सदस्यहरु उमेश प्रधान, राधादेवी गैँडा, सीता मिजार, प्रेम खत्री, ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष लक्ष्मी भक्त सुवाल, चाँगुनारायण नगरपालिकाका सहारा परियोजना संयोजक दिनेश थापा, ने.रे.सो केन्द्रका कार्यक्रम संयोजक राजु राउत, भक्तपुर रेडक्रसकी कार्यालय प्रमुख उमा थापा लगायत ज्येष्ठ नागरिक मिलन चौतारीका सदस्यहरु तथा कर्मचारीहरु गरी ६७ जनाको उपस्थिती रहेको थियो ।
वडा अध्यक्ष सोम प्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाले तयार गरेका ज्येष्ठ नागरिक मिलन चौतारी गठन कार्यविधि २०८० अनुरुप वडास्तरमा गठन भएका ज्येष्ठ नागरिक मिलन चौतारीहरु आवश्यकता अनुसार गठन र पूर्नगठन गरिएको बताउनुभयो । उहाँले सबै ज्येष्ठ नागरिक मिलन चौतरीलाई नगरपालिकामा संस्थाको रुपमा दर्ता गर्ने प्रक्रिया पनि अगाडी बढाइने कुरा वडा अध्यक्ष प्रधानको बताउनुभयो । उहाँले आगामी दिनमा आवश्यकता अनुसार जनसंख्या र क्षेत्रफलको आधारमा थप ज्येष्ठ नागरिक मिलन चौतारी क्रमशः गठन गर्दै जाने र त्यसका लागि नगरपालिकाले तयार गरेको कार्यविधिमा आवश्यक परिमार्जन गर्ने बताउनुभयो ।

सहभागि सबैलाई स्वागत गर्नुहुदै सदस्य उमेश प्रधानले ज्येष्ठ नागरिकहरुका लागि आवश्यक योजनाहरु ज्येष्ठ नागरिक मिलन चौतरी मार्फत वडामा पेश गर्नुहुन अनुरोध गर्नुभयो ।
चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन इकाई प्रमुख एवं सहारा परियोजनाका संयोजक दिनेश थापाले चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण, रगत र रक्ततत्वका साथै अक्सिजन निःशुल्क रुपमा वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, घरदैलो स्वास्थ्य कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु संचालन गरिरहेको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाकी कार्यालय प्रमुख उमा थापाले ज्येष्ठ नागरिकहरुको लागि परियोजना संचालनको आवश्यकता, महत्वका बारेमा जानकारी गराउनुभएको थियोे । उहाँले परियोजनाको उद्धेश्य र गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुले परियोजना सञ्चालनका बारेमा जानकारी पाउँदा खुशी ब्यक्त गर्नुहुँदै उहाँहरुले भोग्दै आएको कठिनाइहरुको बारेमा पनि अवगत गराउनुभएको थियो । उहाँहरुले नगरपालिकाले प्रदान गरिरहेको स्वास्थ्य सेवालाइ अझ प्रभावकारी बनाउने, दिँउसोको समयमा ज्येष्ठ नागरिकलाई समय विताउन सामुदायिक भवन, घरदैलो स्वास्थ्य परिक्षण, निःशुल्क स्वास्थ्य विमा लगायतका विषयमा सुझाव दिनुभएको थियो । आजको ज्येष्ठ नगरिकहरुको भेलाले लक्ष्मी भक्त सुवालको अध्यक्षतामा १७ सदस्यीय वडा नं २ को ज्येष्ठ नागरिक मिलन चौतारी पूर्नगठन भएको छ । अध्यक्ष सुवालले हालसम्म ज्येष्ठ नागरिक मिलन चौतारीले संचालन गरेका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
चाँगुनारायण नगरपालिकाका ज्येष्ठ नागरीकहरुको स्वास्थ्य तथा सम्पन्नतामा सुधार ल्याउन सहयोग गर्ने, ज्येष्ठ नागरीकहरुको लागि आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरीकहरु प्रति समाजले गर्ने कार्य तथा ब्यबहारहरुमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यका लागि संचालन भइरहेको सहारा परियोजना ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा संचालन गरिनेछ । जनवरी २०२४ देखि डिसेम्बर २०२६ सम्म ३ वर्षका लागि संचालन हुने परियोजनाको कुल लागत ३ करोडको हुनेछ । स्वीस रेडक्रसले परियोजनाको कम्तीमा ५० प्रतिशत लागत ब्यहोर्नेछ भने बाँकी रकम नगरपालिकाले वार्षिक बजेटबाट विनियोजन गर्नेछ ।
परियोजना अन्र्तगत चौतारी गठन तथा पूर्नगठन र अभिमुखिकरण कार्यक्रम वडा नं ४, ६,७ र८ मा सम्पन्न भइसकेको छ भने वडा नं १,३,५ र ९ मा यसै हप्ता सम्पन्न गरिनेछ ।