नरेन्द्र मोदीले कति पाउँछन् तलब ?

32

काठमाडौं । प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी भारतको सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण पदमा छन् । देश चलाउने जिम्मेवारी उनकै काँधमा छ । यो महत्त्वपूर्ण जिम्मेवारी निभाएबापत उनले मासिक १ लाख ६६ हजार भारु तलब पाउँछन् । यो भनेको वार्षिक करिब २० लाख भारु हुन आउँछ । यो रकममा आधारभूत तलब ५० हजार भारु, तीन हजार भारु भत्ता खर्च हो भने ४५ हजार भारु संसदीय भत्ता र दैनिक भत्ता दुई हजार पनि समावेश छ ।

मोदीले आफ्नो चुनावी घोषणापत्रमा प्रतिज्ञापत्रमा आफ्नो व्यक्तिगत सम्पत्ति ३ करोड २ लाख भारु घोषणा गरेका छन् । प्रतिज्ञापत्र अनुसार उनको आम्दानीका दुईवटा स्रोत थिए, प्रधानमन्त्री हुँदाको तलब र ब्याज ।

तलब बाहेक प्रधानमन्त्रीले के–के पाउँछन् ?

प्रधानमन्त्रीका रूपमा मोदीले तलब बाहेक अन्य धेरै सुविधा पाउनेछन् । तीमध्ये सबैभन्दा प्रमुख हो उनलाई ७ लोक कल्याण मार्गमा दिइएको सरकारी निवास । यो निवासको लागि प्रधानमन्त्रीले कुनै भाडा तिर्नु पर्दैन । आधिकारिक भ्रमणका लागि प्रधानमन्त्रीले एयर इन्डियाको विशेष विमान पनि दिइएको छ ।

प्रधानमन्त्रीको हैसियतमा मोदी मर्सिडीज बेन्ज एस ६५० गार्डमा यात्रा गर्छन् । यो पूरै बुलेटप्रुफ गाडी हो । यो गाडीमा एके–४७ राइफलले पनि असर गर्दैन । प्रधानमन्त्रीबाट हटेको पाँच वर्षसम्म मोदीले निःशुल्क बास, बिजुली र पानी पाउनेछन् । उनीले सो अवधिभर एसपीजी सुरक्षा समेत पाउनेछन् ।

भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । आइतबार मोदीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका थिए । योसँगै उनी भारतको इतिहासमा जवाहरलाल नेहरूपछि लगातार तेस्रो पटक प्रधानमन्त्री हुने दोस्रो नेता बनेका छन् ।

भारतमा राष्ट्रपतिले मासिक ५ लाख भारु पारिश्रमिक पाउँछन् । उपराष्ट्रपतिको मासिक ४ लाख भारु छ । सन् २०१८ सम्म राष्ट्रपतिको तलब १ लाख ५० हजार भारु र उपराष्ट्रपतिको तलब १ लाख २५ हजार भारु मात्रै थियो । त्यसपछि तलब बढाइयो ।