स्थानीय तहको दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आगामी असार १४ गते हुने ४६१ वटा स्थानीय तहको निर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका तयार गरेको हो ।
यसअनुसार असार २ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । त्यसै दिन उमेदवारको सूची प्रकाशन गरिनेछ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार असार ३ गते मनोनयनपत्र दर्ता गरेका उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
त्यस्तै, ३ गते नै मनोनयनपत्र जाँच गर्ने कार्यतालिका छ ।
असार ४ गतेलाई उमेदवारको नामावली प्रकाशन गर्ने र उमेदवारी फिर्ता लिन सकिने दिनको रुपमा तोकिएको छ । त्यस्तै, असार ५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र सोही दिन उमेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।
असार १४ गते बुधबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम हुनेछ ।
सरकारले आज विहान गरेको निर्णयअनुसार दोस्रो चरणमा १४ गते निर्वाचन गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको हो । असार १४ गते १, ३, ४ र ७ प्रदेशका ४१ जिल्लाका स्थानीय तहमा निर्वाचन हुँदैछ ।
यसअघि जेठ ३१ का लागि दोस्रो चरणको चुनावको मिति तय भएपनि सरकारले असार ९ मा सारेको थियो । ९ गते पनि मुस्लिम धर्मावलम्बीहरूकाे ठूलो चाड रमजान परेकाले पुनः असार १४ लार्इ सारिएको हो ।