अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

74

सिमरा, बारा
नेपाल अपाङ्ग सेवा संघ, बाराद्वारा सञ्चालित स्रोत कक्षामा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुलाई छत्रलक्ष्मी–रुद्रलाल स्मृति प्रतिष्ठानले पानीको बोटलसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ ।
नेपाल अपाङ्ग सेवा संघ बाराको व्यवस्थापनमा सिमरामा संचालित बाहिरा तथा सुस्त श्रवण र बौद्धिक अपाङ्ग श्रोत कक्षा संचालनमा सहजता ल्याउनका लागि शैक्षिक सामग्री वितरण गरेको प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीले बताए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा संचालित एक मात्र श्रोत कक्षा सरकारी उपेक्षाका कारण प्रभावकारी बनाउन नसकिएको अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्लेले बताए ।
स्रोत कक्षामा ३५ जना बहिरा तथा सुस्त श्रवण र बौद्धिक अपाङ्ग विद्यार्थीहरु अध्ययनरत रहेको र स्रोत तथा पूर्वाधारको अभावमा कक्षा ६ सम्म मात्र सञ्चालनमा रहेको र माथिल्लो कक्षा अध्ययन गराउन चितवन पठाउनुपर्ने वाध्यता रहेको जानकारी उनले दिए ।
अपाङ्ग बालबालिकामैत्री भौतिक संरचना, खेलकुद र मनोरञ्जनका सामग्रीको उपलब्धता पनि नभएकोले बालबालिकको पठनपाठन र क्षमता विकासमा समस्या भएको विद्यालयले जनाएको छ ।
१० जना बहिरा बालबालिकाको लागि २ जना, ८ जना सुस्त श्रवणका लागि २ जना सहयोगी शिक्षकको आवश्यकता हुने भए पनि सो स्रोत केन्द्रमा शिक्षक र सहयोगीको अभाव पनि उत्तिकै रहेको छ ।
सो अभावलाई केही भए पनि राहत होस् भनेर सहयोग प्रदान गरेको छत्रलक्ष्मी रुद्रलाल स्मृति प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीले बताए ।
प्रतिष्ठानका तर्फबाट तीर्थमाया मुल्मी, पूर्ण दुवाल, रत्ना चवाल, बुद्ध घलानलगायतले अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।