मध्यपुर थिमिको बजेट ३ अर्ब २२ करोड

24

भक्तपुर । मध्यपुर नगरपालिकाले ३ अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि नगरपालिकाले ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको हो । सोमबार नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरसभाको दशौं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि ३ अर्ब २२ करोड ७० लाख ७५ सय रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिएका हुन् ।

नगरपालिकाको कुल बजेटमध्ये पुँजीगत खर्चका लागि ९८ करोड ३७ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिए । पुँजीगत खर्चका लागि नगरपालिकाले विनियोजन गरेको रकम कुल बजेटको ५८।१८ प्रतिशत हो ।

त्यस्तै, आगामी आ।वमा चालू खर्चका लागि नगरपालिकाले कुल बजेटको ४१।८२ प्रतिशत अर्थात ७० करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट ६१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरिने अनुमान गरेको छ । संघीय सरकारको राजस्व बाँडफाँडबाट ३५ करोड ८८ लाख रुपैयाँ र अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत् ६० करोड १ लाख रुपैयाँ प्राप्त हुने नगरपालिकाको अनुमान छ । त्यस्तै, बागमती प्रदेश सरकारबाट प्राप्त हुने १० करोड ६६ लाख रुपैयाँ र लागत सहभागीता १ करोड सहित १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ ।

नगरपाकिकाले आगामी आर्थिक वर्षमा कमेरोटार जग्गा एकीकरण आयोजनाका लागि ५७ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सिन्टिटार जग्गा एकीकरण आयोजनाका लागि २१ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिए ।

मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि ५३ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लागि २२ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै, सडक बोर्डको ७० लाख रुपैयाँ सहित १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको श्रेष्ठले बताए ।

साथै, नगरपालिकाको सञ्चित कोषबाट बेहोर्ने गरि १ अर्ब ६९ करोड ९ लाख रुपैयाँ आयोजनाहरु, अस्पताल, सडक बोर्ड, सामाजिक सुरक्षा भत्तासहित कुल ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले जानकारी दिए ।