नेपाल पत्रकार महासङ्घ भक्तपुरमा तालाबन्दी 

47
भक्तपुर । नेपाल पत्रकार महासङ्घ भक्तपुरमा प्रेस युनियनले तालाबन्दी गरेको छ ।
आफ्ना चार बुँदे माग राख्दै युनियनले पत्रकार महासङ्घ भक्तपुरको कार्यालयमा तालाबन्दी गरेको हो ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरमा रहेका चार सङ्गठनको निर्णय भन्दा बेगर ७ जना सदस्य थप भएर आएको प्रति आफ्नो आपत्ति रहेको प्रेस युनियनका अध्यक्ष रोशन शिल्पकारले बताउनुभयो । उहाँका अनुसार विधि विधान भन्दा माथि गएर थप सदस्य गराउन गैर कानुनी भएकाले आफूहरूले तालाबन्दी गरेको उहाँले जानकारी दिनुभयो ।
तालाबन्दीमा प्रेस युनियनका अध्यक्ष रोशन शिल्पकारका साथमा सुन्दर शिल्पकार, विनोद कोजु , मोहन बल्ल सल्लाहकार केदार कोइराला, नारायण सुन्दर किलम्वु र पुष्करराज बुढाथोकीको उपस्थिति रहेको थियो ।
प्रेस युनियनले माग गरेका विषय यस्ता छन् ।
१) विधि र प्रक्रिया विपरीत सार्वजनिक गरिएको नामावली खारेज गर ।
२) जिल्ला सहमति भएको बाहेक र जथाभाबी रूपमा स्थानान्तरण  गरिएको सदस्यता खारेज गर ।
३) नवीकरण छुटेका साथीहरूको सदस्यता कायम गर ।
४) विधान र प्रक्रिया पुर्‍याएर मात्र निर्वाचन घोषणा गर ।
भन्ने मागका साथ अध्यक्ष रोशन शिल्पकारको हस्ताक्षर भएको माग पत्रका साथमा तालाबन्दी भएको हो ।
प्रेस युनियनले शुक्रवार साँझ पत्रकार महासङ्घ केन्द्रमा पनि आफ्ना माग सम्बोधन गर भन्दै तालाबन्दी गरेको छ ।