नेपालकै सबैभन्दा अग्लो मन्दिर ङातापोल (पाँचतले) ३२२ वर्षमा 

58
सन्जीब दुलाल
भक्तपुर । नेपालकै सबैभन्दा अग्लो मन्दिर ङातापोल (पाँचतले) मन्दिर आजको तिथिदेखि ३२१ वर्ष पुरा भएर ३२२ वर्षमा प्रवेश गरेको छ । असार शुक्ल प्रतिपदामा निर्माण सम्पन्न भएको नेपालको सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढी क्षेत्रस्थित ङातापोल (पाँचतले) मन्दिर निर्माण भएको शनिवार ३२१ वर्ष पूरा भई ३२२ वर्षमा प्रवेश गरेको हो ।
तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको ङातापोल मन्दिर नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ । उक्त अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्ष बन्धन पूजा गरेकोसमेत उल्लेख भएअनुरूप उक्त दिन वषैंनी मन्दिरमा झन्डा राख्ने तथा पूजाआजा गर्ने चलन रही आएको छ ।
सोही इतिहासलाई आधार मानेर प्रत्येक वर्षको असार शुक्ल प्रतिपदाको दिन छाग (बोका) तथा हाँसको बलि दिएर वर्ष बन्धन पूजा गरिँदै आएको छ ।
मन्दिरको सरसफाइ र मर्मत सम्भार गर्ने उद्देश्यले राजा भूपतीन्द्र मल्लले बर्सेनि वर्ष बन्धन पूजाको परम्परा बसाएको भक्तपुर तलेजुका मूल नाइकेहरू बताउँछन् । वर्ष बन्धन पूजा गरिएको प्रतीकस्वरुप मन्दिरको गजुरमा झन्डोत्तोलन गर्ने प्रचलन रहेको छ । सोहीअनुसार शनिवार पनि मन्दिरको गजुरमा झन्डोत्तोलन गरिएको छ ।
भक्तपुर तलेजुका राजोपाध्याय, जोशी, कर्माचार्य र ताल्चाभँडेल पुजारीहरूले तान्त्रिक विधिअनुसार ङातापोल मन्दिरभित्र रहेकी सिद्धिलक्ष्मी देवीको पूजासँगै मन्दिरको वर्ष बन्धन पूजा गरिन्छ ।
विधि विधानसहित सिद्धिलक्ष्मीको पूजा गरिएसँगै भक्तपुर नपा ६ तु छिमला निवासी अवालहरूले मन्दिरको गजुरमा झन्डोत्तोलन गर्ने गर्छन् । स्थानीय तु छिमला टोल सुधार समितिका पदाधिकारीहरूले सवा दुई मिटर सेतो कपडामा रातो कपडाको अर्ध चन्द्र अङ्कित ध्वजा मन्दिरको गजुरमा फहराउँदै आएका छन् ।
पाँच तलामध्ये दुई तलासम्म मन्दिरभित्रबाटै माथि जाने व्यवस्था छ । तर मन्दिरको गजुरमा पुग्न तेस्रो, चौथो र पाँचौँ तलाको छाना भएर जानुपर्छ । यी तीन तलामा मन्दिरको पछाडिपट्टिको छानामा ढक्कनसहितको प्वालको व्यवस्था गरिएको छ ।
मन्दिर भक्तपुर तलेजुअन्तर्गत सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ । मन्दिरमा हुने पूजा तथा पुजारीको पारिश्रमिक भने गुठी संस्थानबाट व्यवस्थापन भइरहेको छ । मन्दिरमा वर्ष बन्धन पूजा र दसैँको महानवमीमा बाहेक अरू बेला बलि दिएर पूजा हुँदैन ।
शुक्रवार बेलुकी देखि परेको वर्षाका कारण झन्डोत्तोलन गर्न कठिनभएपनि मन्दिरमा नित्य पूजा आजा र झन्डोत्तोलन गरिएको थियो ।