केरुङबाट फेरि शुरु भयो रक्तचन्दन तस्करी : २० टन रक्तचन्दन चीन पुग्यो

524

काठमाडौं । मुलुकमा सबैको ध्यान निर्वाचनमा केन्द्रित भइरहेका बेला केही समयदेखि रोकिएको अवैध रक्तचन्दन तस्करी पुनः शुरु भएको छ । तीनवटै सुरक्षा निकायको मिलेमतोमा रसुवाको केरुङ नाकाबाट व्यापक मात्रामा रक्तचन्दन तस्करी भइरहेको छ । तस्करहरुको समूहले भारतका विभिन्न स्थानबाट नेपाल भित्रने बसहरुमार्फत रक्तचन्दन भित्र्याई तस्करी गर्दै आइरहेका छन् ।

विगतदेखि रक्तचन्दन तस्करी गर्दै आइरहेको दोर्जे शेर्पा र नारायण पौडेलको समूहले दुई महिनाको बीचमा मात्र २० टन रक्तचन्दन चीन पठाउन सफल भएको स्रोतको दावी छ । उनीहरुले दिल्लीबाट त्यसरी भित्र्याएको रक्तचन्दन बौद्धमा गोदाम गरी कन्टेरमार्फत केरुङ नाका हुँदै चीन निकासी गर्दै आएका छन् । दिल्लीमा प्रतिकिलो १७ सय भारुमा किनेर चीनमा साढे सात हजार नेपाली मूल्यमा रक्तचन्दन निकासी हुने गरेको छ । चन्दनका मालिकले ६ सय रुपैयाँ भारु क्यारिङ गर्ने समूहलाई दिएपछि उनीहरुले काठमाडौंको बौद्धसम्म सहज रुपमा ल्याउँदै आएको पनि स्रोत बताउँछ ।

काठमाडौं आइपुगेको उक्त रक्तचन्दन नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनासँगको सेटिङमा शेर्पा र पौडेलको समूह गल्छी–त्रिशूली–रसुवागढी नाका हुँदै चिनियाँ बजारमा पु-याउन सफल भएको छ । नाका–नाकामा रहेका सुरक्षा निकायका प्रमुखहरुलाई तस्कहरुले सेटिङ मिलाई काठमाडौंबाट केरुङसम्म रक्तचन्दन पु-याउँदै आएका छन् । स्रोतका अनुसार तस्करहरुले बागमती अञ्चल प्रहरी प्रमुख पुष्पचन्द्र रञ्जितलाई समेत प्रभावमा पारेर तस्करी गर्दै आएका छन् ।

२०७२ सालको भूकम्पपछि केरुङ नाका चीन जोड्ने छोटो मार्ग भएपछि तस्करले यो बाटो प्रयोग गर्न थालेका हुन् । एक वर्ष अघि पनि कर्मचारी र सुरक्षा निकायको मिलेमतोमा केरुङबाट ५० टन भन्दा बढि रक्तचन्दन चीन निकासी भएको थियो । गल्छीबाट केरुङसम्म विभिन्न स्थानमा सुरक्षाकर्मीको चेक प्वाइन्ट भए पनि त्यहाँ त्यस्ता कन्टेनरलाई अहिले कुनै कडाइ नहुने जानकारहरू बताउँछन् । निकुञ्ज पर्ने भएकाले त्यहाँ कालिकास्थान, ब्राबल–धुन्चे, स्याफ्रुबेंसी, टिमुरेमा सेनाको चेक प्वाइन्ट समेत छ । ती चेकप्वाइन्टमा रातदिन सेना खटिदा समेत चन्दन तस्करी हुनुलाई रहस्यमय मानिएको छ ।

भारतको हिमाञ्चल प्रदेशबाट सीमा नाका हँुदै नेपाल भित्रिएर चीनको बजारमा पुग्ने रक्तचन्दन नेपाली सीमासम्म भारतका तस्करले ल्याउँदै आएका छन् । त्यसपछि क्यारिङ गर्ने समूह, भन्सारका कर्मचारी तथा सुरक्षा निकायको मिलेमतोमा काठमाडौं आएको चन्दनलाई चीन पु-याइन्छ ।

रक्तचन्दन तस्करीमा कहलिएका शेर्पा र पौडेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपाली–४ का बासिन्दा हुन् । पौडेलले अवैध डलर र सुनको तस्करी गरेर ५० करोड भन्दा बढि सम्पत्ति कमाइसकेका छन् । अबैध डलर तस्करी गर्दा दुई वर्ष जेल बसेर छुटेका पौडेलले पछिल्लो समयमा शेर्पालाई पार्टनर बनाई काम गर्दै आइरहेका छन् । नेपालको बाटो प्रयोग गरी तस्करी गर्दा जोखिममा परेपछि उनीहरुले भारतबाट भुटान हुँदै चीनसम्म रक्तचन्दन तस्करी गरेका थिए । तर अहिले निर्वाचनको मुखमा माहोल बनेको भन्दै शेर्पा र पौडेललको समूहले केरुङ नाकालाई रोजेका हुन् ।यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।