लुतो फाल्ने धार्मिक महत्व के छ ?

60

भक्तपुर ।  आज साउने सङ्क्रान्ति पर्व । यस दिन साँझ घरघरमा लुतो फाल्ने हिन्दु परम्परा रहेको छ । धेरैलाई लाग्न सक्छ आजका दिन किन लुतो फाल्ने गरिएको हो ? आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

बिक्रम सम्वतकाे पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ । ज्योतिष शास्त्रअनुसार सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिन्छ ।

खासगरी पहाडी क्षेत्रमा नेपाली हिन्दु परम्परामा मनाइने यस पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो लैजा है’ भन्दै कराइने चलन छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद बताउँछन् ।

साउने सङ्क्रान्ति लाई यस परिप्रेक्षमा लुतो फाल्ने दिनका रूपमा पनि लिइन्छ । लुतो फाल्ने आआफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।