क्षयरोग निवारण संस्थाका पूर्व सभापति श्रेष्ठ सम्मानित

57

भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औँ स्थापना दिवस कार्यक्रममा पूर्व सभापति बाबुकाजी श्रेष्ठलाई सम्मान गरिएको छ । कार्यक्रम पूर्व पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्रेष्ठको कार्यकाल पूर्ण सफलतापूर्वक जिम्मेवारी पूरा गर्नु भएकोले प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज महेन्द्र गोपाल कर्माचार्यले दोसल्ला ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई संस्थागत विकास, आर्थिक सबलीकरण, अक्षयकोष स्थापना र पुरस्कार व्यवस्था गरिएको बताउनुभयो । उहाँले सबैसँग सहकार्य गरी नयाँ ढङ्गले क्षयरोग नियन्त्रणका कार्यक्रमहरू गरेको त्यति वेला नै भक्तपुर जिल्लालाई क्षयरोग मुक्त जिल्ला बनाउने अभियान थालेको बताउनुका साथै क्षयरोग नियन्त्रण अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा निरन्तर तिन दशक भन्दा बढी कर्मचारीको रूपमा सेवा गर्नु भएको कार्यालय सचिव हिरण्य प्रताप सागामीलाई निवृत्त सम्मान गरिएको थियो । सोही कार्यक्रममा कर्मचारी उपदान रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सम्मान ग्रहण गर्दै सागामीले भक्तपुर जिल्लामा क्षयरोग नियन्त्रण गर्न हरबखत समय दिई लागि परेको र पछिसम्म पनि लागिरहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज महेन्द्र गोपाल कर्माचार्यले मन्तव्य दिँदै भक्तपुर शाखा अरू शाखाहरू भन्दा अग्रणीमा रहेको खुलाउँदै भक्तपुर शाखाको गतिविधिको प्रशंसा गर्नुभयो । नेपालको एक मात्त क्षयरोग अस्पताल कालीमाटीमा सञ्चालित अस्पतालमा उपचाररत क्षयरोगी बिरामीहरूलाई खानाको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गरेको बताउनुभयो ।

संस्थाका सचिव सुमन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा निवर्तमान सभापति राम सिख्वःले धन्यवाद ज्ञापन गर्नुभयो ।