श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी 

93

भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको हो ।  सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा गर्दा इतिहास लोप हुने अवस्थामा पुगेको देख्दा आफूलाई ज्यादै दुःख लागेको बताउनुभयो ।

उहाँले भूकम्प देखि हाल सम्म विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधारका विषयमा विद्यालयले चालेको कदमको विषयमा जानकारी लिनु भएको थियो ।

यस्तै विद्यालयका प्रधानाध्यापक राम हाडाले नमुना विद्यालयको रूपमा विद्यालय छनोट भएको भए पनि स्थानीय निकायको असहयोगका कारण विद्यालय भवन बन्न नसकेको र टहरामा नै अध्यापन गराउन बाध्य भएको बताउनुभएको थियो ।

विद्यालय दरबार क्षेत्र भित्र पर्ने भएका कारण पुरातत्त्व र स्थानीय निकायको चेपुवामा पर्दा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ढिलाइ हुँदै आएको सरोकारवालाहरूले बताएका थिए ।

विद्यालय अनुगमन पस्चात मन्त्री खड्गीले विद्यालय निर्माणका लागि प्रदेशबाट सक्दो पहल गर्ने बताउनुभएको थियो । उहाँले शिक्षा क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको र शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निरीक्षण गरेको बताउनुभएको थियो । सामुदायिक विद्यालयको स्तर सुधार गर्ने र नतिजामुखी शिक्षण सिकाइको अवधारणा अनुसार काम गर्ने निर्देशन मन्त्री खड्गीले दिनुभएको छ  ।

निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारणसहित गुणस्तर सुधारका लागि योजना निर्माण गरेर मन्त्रालयमा पेस गर्न उहाँले विद्यालयहरूलाई निर्देशन दिनुभएको थियो । प्रदेश सरकार शिक्षाको विकास र विद्यार्थीहरूको भविष्य प्रति गम्भीर भएर अघि बढेको उहाँको भनाई छ ।

अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापकहरुले शिक्षकहरूको क्षमता विकास, तालिम तथा प्रविधिको प्रयोग तथा सुविधायुक्त ल्याब र भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने जानकारी दिएका थिए  ।

अनुगमन टोलीमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दीपेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।

राणाकालीन विद्यालयको दर्दनाक अवस्था

भक्तपुरमा रणकालीन अवस्थामा ठुलो संर्घषका बाबजुद विसं १९८१ श्री पद्म माध्यमिक विद्यालय खुलेको थियो । शिक्षा विकासलाई मध्यनजर गर्दै खुलेको यो विद्यालय भक्तपुरको नै पहिलो विद्यालय हो । श्री पद्मको स्थापना चन्द्रशमशेरको पालामा ‘भादगाउँ अङ्ग्रेजी विद्यालय’ का नामले भएको थियो। समाजसेवी जगबहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले दुई कक्षासम्म सञ्चालन गरेका थिए। प्रारम्भिक चरणमै अङ्ग्रेजी शिक्षा भित्र्याउने यो भक्तपुरकै पहिलो स्कुल थियो।

विसं २००३ सालमा पद्म शमशेरले यसलाई माध्यमिक तह बनाउने हुकुम दिएसँगै यसको नाम पनि फेरियो।

यहाँका विद्यार्थी २००३ सालबाटै एसएलसी परीक्षामा सहभागी थिए। त्यो बेला ४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

राणा काल देखि विभिन्न समस्या झेल्दै भक्तपुरको शैक्षिक गुणस्तरलाई ध्यान दिँदै आएको उक्त विद्यालय हाल टहरामा अध्यापन गराउन बाध्य भएको छ ।  यस्तै  २००४ सालमा स्थापना भएको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको अवस्था दयनीय भएको हो ।