चांगाथलीका २० वर्षे हिमाञ्चल राज केसीले जिते फेस अफ नेपाल २०२४ को टाइटल

23

काठमाण्डौ। ललितपुर चांगाथलीका २० वर्षे युवक हिमाञ्चल राज केसीले एशिया मोडेल फेस्टिबलको लागि ‘फेस अफ नेपाल २०२४’ उपाधि जितेका छन् ।
‘फेस अफ नेपाल २०२४’ टाइटल जितेसंगै हिमाञ्चलले आउँदो नोभेम्वरमा दक्षिण कोरियामा आयोजना हुने एशियाली मुलुकका मोडेलहरुबीच प्रतिष्पर्धा हुने फेस अफ एशिया अर्थात एशिया मोडेल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउनेछन् ।
राजधानीको दरवारमार्गस्थित होटेल याक एण्ड यतीमा बिहीबार साँझ आयोजित फाइनल प्रतियोगितामा सहभागी अन्य ९ जना प्रतिष्पर्धिलाई पाखा लगाएर हिमाञ्चलले सो उपाधि जितेका हुन् । यसअघि उनी उत्कृष्ट १० मा छनौट भएका थिए ।
सो प्रतियोगितामा आर्यन सोनी चौधरीले जज च्वाइस जितेका छन भने फेस अफ नेपालको महिलातर्फको टाइटल सिम्रन चन्द ठकुरी र टिना परियारले जितीन् ।
‘फेस अफ नेपाल २०२४’ मुख्य उपाधिको साथै हिमाञ्चलले देश विदेशबाट सर्वाधिक मतको उपाधि र उत्कृष्ट शारिरीक सुगठन गरि तीनवटा उपाधि जितेका छन् ।
महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीका व्यवसायी एवम् समाजसेवी राजकुमार र गृहणिी सविता केसीका छोरा हिमाञ्चलराज राजधानीको कमलपोखरीस्थित इस्लिङ्गटन कलेजमा बिबिए चौथो सेमेष्टरमा अध्ययन गर्दैछन् । उनी २०६१ बैशाख ७ गते चांगाथलीमा जन्मेका हुन् ।
६ फिट १ इन्च अग्ला हिमाञ्चलले बर्जर पेण्टस् लगायत विभिन्न व्यवसायीक विज्ञापनहरुमा मोडेलको रुपमा खेलिसकेका छन् ।