९७ औं जन्मदिनको पूर्वसन्ध्यामा ‘भैरव रिसालका छानिएका रचना- २’ सार्वजनिक

35

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ ।

उनको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना २’ सार्वजनिक भएको हो ।

पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ । पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरुमा लेखेका लेख तथा रचनाहरुलाई छानेर समावेश गरिएको छ ।

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरुले ९७ वर्ष पुगिसकेका रिसालको ऊर्जाको प्रशंसा गरेका थिए । रिसालले आफ्नो पत्रकारिताका दिनहरुमा र लेखनमार्फत देशलाई योगदान पु¥याएको भन्दै उनीहरुले सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताए ।

रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उनले भनाइ छ ।

महामन्त्री शर्माले भने, ‘एउटा व्यक्तिले कति वर्ष बाँच्यो भन्ने कुरा जति महत्वपूर्ण हुन्छ । बाँचेको जिन्दगी बेदाग बाँच्यो भन्ने कुरा चाहिँ भयंकर कुरा हुन्छ । बाँच्दै गर्दा उचाइमै पुग्यो रे, ठूलो जिम्मेवारीमा पुग्यो रे, तर परपरबाट हेर्दा टल्किने दागहरुभन्दा लेखनको जिन्दगी, इमानको जिन्दगी बाँचिराखेर, बेदाग रुपमा मान्छेका सामुन्ने हात हल्लाउन सक्ने जिन्दगी सबैभन्दा बहुमूल्य हुन्छ । त्यो बहुमूल्य जिन्दगी आदरणीय भैरव दाइले बाँच्नुभएको छ । म हृदयदेखि श्रद्धा गर्न चाहन्छु ।’

रिसालले अझै पनि सक्रिय जीवन व्यतित गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालको लेखरचना आउनेमा आमन्त्रित अतिथिहरुले विश्वास व्यक्त गरेका थिए ।