नेपाल भियतनाम पर्यटनका लागि चार्टर उडान हुँदै 

12

काठमाडौँ । सिधा उडान सम्पर्क नभएको भियतनाम र नेपालबिच पर्यटक आदानप्रदान गर्ने उद्देश्यले दुइटा चार्टर उडान हुने भएका छन् ।

काठमाडौँको हात्तीसारस्थित रुप्से होलिडेजले दशैंलगत्तै असोज ३० गते नेपालबाट कम्तीमा एक सय ५० पर्यटकलाई भियतनाम लैजाने भएको छ । त्यसै दिन भियतनामबाट १ सय ५० हाराहारी पर्यटक नेपाल आउने भएका छन् । रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार, भियतनामबाट नेपाल आउने पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयम्भू र बौद्धनाथको अवलोकन गर्ने छन् । पराजुलीका अनुसार, नेपाल र भियतनामबिच सिधा उडान नभएकाले चार्टर उडानबाट पर्यटक ओहोरदोहोर हुन लागेका हुन् ।

नेपाल र भियतनामबिच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । नेपालीले अन्य पूर्वी एसियाली मुलुक हुँदै भियतनाम भ्रमणमा जानुपर्ने भए महँगो पर्ने भएकाले सिधा उडानमार्फत यो टुर प्याकेज आयोजना गरिएको हो । रुप्सेले भियतनाम भ्रमणका लागि १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको छ । यसमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिक अप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरूमा भ्रमण गराइने भनिएको छ । पहिलो दिन हानोई पुग्ने नेपालीलाई त्यहाँ थ्री स्टार होटेलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइने भनिएको छ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बे मा क्रुज सफारी, चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौँ दिन नेपाल फर्काइने छ ।

कुल १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको टुर प्याकेज भए पनि एकै पटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा भ्रमण गर्न सकिने रुप्सेले विज्ञप्तिमार्फत जनाएको छ । यो प्याकेज १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था गरिएको छ ।