भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको आयोजनामा आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा साना उद्यमी व्यवशायीहरुलाई लक्षित गरी कर शिक्षा कार्यक्रम आन्तरिक राजश्व कार्यालयको सभा हलमा कर अधिकृत दिलीप गौतमज्यूको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो । सो अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेम खर्बुजाले सङ्घ मार्फत स साना उद्यमी व्यवशायीहरुलाई कर तिर्न तथा करमा दर्ता गर्न गरी रहेको सहकार्यबारे जानकारी गराउनुका साथै स साना करदाताहरूले विगतमा कर तिरे पनि यो वर्षको आन्तरिक राजश्व कार्यालयको सिस्टममा देखिएको विभिन्न समस्याहरू बारे कर अधिकृतलाई जानकारी गराउनु भयो ।
विशेषता आर्थिक वर्ष २०५७/०५८ देखि २०६२/६३ साल सम्म कर तिरेको प्रमाण भएता पनि राजश्व कार्यालयको सिस्टममा कर बक्यौता देखाएको,विगतमा चार आर्थिक वर्षको लगातार कर तिरेपछि सो भन्दा अघिका कर स्वतः मिनाहा भनी आर्थिक ऐनमा व्यवस्था भएअनुसार कर तिरेका उद्यमी व्यवशायीहरुको पनि कर बक्यौता देखाएको सन्दर्भमा बढी ध्यानाकर्षण गराइयो । साथै कर नतिर्नेलाई समय समयमा विभिन्न छुट सुविधा आउने तर निरन्तर कर तिर्नेलाई केही सुविधा नआएको कारण कम्तीमा निरन्तर ५ वर्ष कर तिरी कर चुक्ता लिएका उद्यमी व्यवशायीहरुलाई छैटौँ वर्ष करमा केही सहुलियत दिए कर नियमित कर तिर्न लालायित हुने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा कर अधिकृत दिलीप गौतमले कर तिर्नु व्यवसायी वा नागरिकको दायित्व भित्र पर्ने र सरकारले विभिन्न कारण कर तिर्न सक्ने हैसियत नभएका कहीँ प्रतिशत मात्र व्यवसायीलाई उत्थान होस भने उद्देश्यले समय समयमा कर छुटको व्यवस्था ल्याएको र सो छुट सोही ऐनमा व्यवस्था भएको समयावधिमा निवेदन दिई लिन सक्नु पर्ने बताउनु भयो ।त्यसै गरी उहाँले कर अनलाइन मार्फत तिर्ने सुविधा भएको हुँदा घरैमा बसी बसी कर तिर्न सक्ने भएको कारण राजश्व कार्यालयले प्रदान गरेको पासवर्ड सुरक्षित राख्नुपर्ने,कारोबार गर्दा अनिवार्य विल विजक लिनु दिनुपर्ने, व्यवसाय कारोबार गर्दा व्यवशायिक बैक खाता सञ्चालन गर्नुका साथै व्यवशायिक क्युआर मार्फत मात्र कारोबार गर्नुपर्ने एव यस वर्ष आर्थिक ऐनले प्रदान गरेका विभिन्न छुट सुविधा लगायत अन्य समसामयिक विषयमा कर शिक्षा दिनुभयो ।
साथै कर अधिकृत गौतमले सहभागी व्यवशायीहरुबाट उठाएका विभिन्न जिज्ञासाहरूको आर्थिक ऐनमा व्यवस्था भए अनुसारको जानकारी गराउनु भयो भने २०५७/०५८ देखि २०६२/६३ तथा सो पछि पनि कर तिरेका उद्यमी व्यवशायीहरुको कर बक्यौता देखाएको सम्बन्धमा विभागमा जानकारी गराई सकेको बताउँदै छिटै नै नीतिगत निर्णय हुने र दोहोरो कर तिर्नु नपर्ने धारणा राख्दै स साना उद्यमको व्यवसायीहरूमा परेको समस्याबारे अवगत गराउनु भएको भक्तपुर घरेलु तथा साना उद्योग सङ्घलाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।