महादेव पोखरीको इतिहास सम्बन्धी शिला पत्र अनावरण

34
नगरकोट।भक्तपुरको प्रसिद्ध महादेव पोखरीको इतिहाससँग सम्बन्धित शिलालेख अनावरण गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ मा रहेको पोखरीको ऐतिहासिक जानकारी उल्लेख गरिएको शिलालेख सोमबार पोखरी परिसरमा अनावरण गरिएको हो ।
धार्मिक र प्राकृतिक महत्त्वको उक्त पोखरीको ऐतिहासिक पृष्ठभूमिका बारेको शिला पत्रको अनावरण इतिहास तथा संस्कृति खोजकर्ता एवम् ज्येष्ठ नागरिक प्रेम प्रसाद काफ्लेले गर्नुभएको हो ।

शिला पत्रमा ॐ नमः सृष्टिकलामा ब्रह्माजीले यस स्थानमा कुण्ड निर्माण गरी रत्नको शिव लिङ्ग स्थापना गर्नु भएकोले यस लिङ्गको नाम रत्नचुडेश्वर रहन गएको कुरा स्कन्द पुराणको हिमवतखण्डको १२३।८ श्लोकमा वर्णन गरिएको छ ।

यस पुण्य भूमि रत्नचुड पर्वतको पवित्र धाम चन्दनीय सिद्ध भूमि हो,झ भनिएको छ। यसै गरी सोही शिला पत्रमा समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष पिएका भगवान् श्री महादेवले विषको डाहा सहन नसकी हिमालय कैलाश पर्वत जाने क्रममा यस तीर्थस्थलमा आई स्नान गर्नुभएकोले यस ठाउँको नाम महादेव पोखरी भएको किम्बदन्ती रहेको छ ।

श्री महादेवले यसै कुण्ड पोखरीबाट आफूले पिएको विष बगाउन नौ धारा सहित नदीहरु, हलाहल, चम्पा, चन्द्रावती, पुण्य माता, बोझिनी, सवर्णा, भद्रा बिला र बाघहिनी प्रवाहित गर्नुभएको भन्ने किम्बदन्ती समेत उल्लेख छ ।

सो पवित्र धाममा प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन भक्तजनहरूले स्नान गरी ध्यान जप गर्ने, रुद्री पाठ गर्ने, जनै मन्त्रण गर्ने, रक्षा बन्धन बाँधी श्री रत्नचुडेश्वर महादेवको विशेष आराधना गर्ने परम्परा चली आएको छ ।

शिला पत्र तयार गर्नका लागि खोजकर्ता प्रेम प्रसाद काफ्‌ले चा.न.पा. ७ बागेश्वरी नेपाली सेनाका साथै समाजसेवी रविन्द्र प्रताप शाहलगायतले सहयोग गरेका थिए । हाल सोही ठाउँमा श्री रत्नचुडेश्वर महादेव पोखरी संरक्षण समितिले अतिरूद्र महायज्ञ सञ्चालन गरिरहेको छ ।