नगरकाेटकाे महादेव पाेखरीमा मेला लाग्दै: भक्तजन आउने क्रम सुरू

165

भक्तपुर । परम्परादेखि जनै पूर्णिमाका दिन नगरकोट महादेव पोखरीमा मेला लाग्ने गरेकाे छ ।
त्यही अन्तरगत भाेलि साेमबार लाग्ने मेलाकाे तयारी पूरा भएको छ । महादेव पोखरी संरक्षण समाज एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले मेलाको लागि आवश्यक तयारी पूरा भएकाे जानकारी दिए ।
सवारी साधनको व्यवस्थापनका लागि ट्रापिक प्रहरी, सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, नगरप्रहरी तथा अन्य व्यवस्थापनका लागि स्थानीय संघसंस्थाहरुले सहयोग गर्ने गरी तयारी गरिएको अध्यक्ष गुरुङले बताए ।
मेला भर्न भक्तजन आउने क्रम सुरू भएको छ । विभिन्न ठाउँबाट आएका भक्तपुरजनहरू पूर्णिमाकाे अघिल्लो रात जाग्राम बस्ने परम्परा रहेकाे छ । साेही कार्यका लागि भक्तजन आउन सुरू भएकाे उक्त ठाउँमा जारी महायज्ञका गुरु दिपक सापकोटाले जानकारी दिए ।
मेलाको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष धनबहादुर लामाले यस वर्ष ५० हजार भन्दा बढी भक्तजनहरुले महादेव पोखरीमा दर्शन गर्ने अनुमान रहेको बताए ।
दोस्रो गोसाइँकुण्डका रूपमा मानिने नगरकोटस्थित महादेव पोखरीमा हरेक वर्ष जनैपूर्णिमाको दिन मेला लाग्ने गरेको छ । रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजनले महादेव पोखरीमा नुहाएर रत्नचुडेश्वर महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने मान्यता रहँदै आएको छ । हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका मानिस आउने गरेका छन् । गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो परम्परा छ । महादेव पोखरीमा विभिन्न जातजातिका मानिसले आ–आफ्नो परम्पराअनुसार पूजाअर्चना गर्ने, झाँकीलगायत विभिन्न नाँच प्रस्तुत गरेर मेला भर्ने गरेका छन् । महादेव पोखरीमा स्नान र रत्नचुडेश्वर महादेवको पूजाअर्चनापछि भक्तजनहरुले रक्षाबन्धन बाँध्ने गर्छन् ।
रत्नचुडेश्वर मन्दिर प्राङगणमा श्रावणी महिनाको अवसर पारेर अति रुद्री सहित शिव सहस्र नाम पुजन महोत्सव यहि साउन ६ गतेदेखि भाद्र ४ गतेसम्म सञ्चालन भईरहेकाले पनि भक्तजनहरुको बाक्लो उपस्थिति हुने अनुमान गरिएको छ ।
भाद्र ३ गते जनैपूर्णिमाका दिन तिल चढाई रात्रीमा जाग्राम बसी जल प्रसाद वितरण र यज्ञको पूर्ण आहूती हुने कार्यक्रम रहेको छ ।