चाँगुनारायण नगरपालिकामा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धि एक दिने कार्यशाला सम्पन्न

32

खरिपाटी, भक्तपुर

चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन इकाईको आयोजनामा आइसेट नेपाल र डिसिए नेपाल तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहयोगमा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
कार्यशालाको उद्घाटन गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विद्यार्थीहरूको पाठ्यक्रममै विपद् व्यवस्थापन, स्वास्थ्य बुढ्यौली, सडक सुरक्षा, खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, प्राथमिक उपचार लगायतका विषय बस्तु समेट्न सकेमा विद्यालय तहबाटै विद्यार्थीहरूले आवश्यक ज्ञान र सिप प्राप्त गर्न सक्ने बताउनु भयो ।

उहाँले नैतिक शिक्षाको महत्त्व रहेको अहिलेको समयमा स्थानीय पाठ्यक्रममा समसामयिक विषयवस्तुलाई समेट्नको लागि आवश्यकता अनुसार परिमार्जन आवश्यक रहेको कुरा औल्याउनुभयोे । नगर प्रमुख खत्रीले विपद् सम्बन्धी आमजन समुदायको बुझाइमा कमी रहेकोले नगरपालिकाले आफ्नै पहल तथा विभिन्न संघसंस्थासंगको सहकार्य तथा समन्वयमा विद्यालय तथा सुमदायस्तरमै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरिरहेको बताउनुुुहुँदै स्थानीय पाठ्यक्रमले विपद् व्यवस्थापन लगायतका विषयवस्तुहरू समेट्न सके विपद् उत्थानशील चाँगुनारायण निर्माण कार्यमा सहयोगी हुने बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा सभापति श्री परशुराम पाण्डेले स्विस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले चाँगुनारायण नगर पालिकासँगको साझेदारीमा स्वास्थ्य बुढ्यौली कार्यक्रम सञ्चालन गरिरहेका बताउनु भयो । उहाँले विद्यार्थीलाई ज्येष्ठ नागरिकको महत्त्व र परिवार र समुदायले ज्येष्ठ नागरिक प्रति गर्ने व्यवहारका बारेमा ज्ञान दिनको लागि पनि पाठ्यक्रममै ज्येष्ठ नागरिकको विषय समावेश गर्नुपर्ने बताउनुभयो ।
सहभागीहरूलाई स्वागत गर्नुहुँदै चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं २ का वडाध्यक्ष श्री सोम प्रसाद प्रधानले नगर पालिकासँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्नुभएकोमा आइसेट नेपाल, डिसिए नेपाल, एन सेट तथा नेपाल रेडक्रस सोसाइटीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा अतिथिको रूपमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्की, आइसेट नेपालका कार्यकारी निर्देशक कञ्चनमणि दीक्षित, चाँगुनारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश अर्याल, सामाजिक विकास शाखाकी प्रमुख निला कुमारी घिमिरे, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल, एनसेटका कार्यक्रम अधिकृत ईश्वर जोशीको उपस्थिति रहेको थियो ।
कार्यशालामा चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापनको प्रगतिको बारेमा इकाई प्रमुख दिनेश थापाले प्रस्तुतीकरण गर्नुभएको थियो भने आई सेट नेपालको कार्यकारी निर्देशक कञ्चनमणि दीक्षितले आइसेट नेपालका बारेमा र स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको प्रस्तुति नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाकी कार्यालय प्रमुख उमा थापाले दिनुभएको थियो । सडक सुरक्षा तथा प्राथमिक उपचारका बारेमा परामर्शदाता शिवराम गौतमले प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रस्तुतीकरण पश्चात् सहभागीहरूलाई ४ वटा विषयगत समूहमा विभाजन गरिएको थियो जसमा विपद् जोखिम न्यूनीकरण, हरित व्यवसाय÷खानेपानी तथा सरसफाइ, स्वास्थ्य प्राथमिक उपचार÷सडक सुरक्षा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण÷स्वस्थ बुढ्यौली, बालमैत्रीहरूको पाठ्यक्रममा कक्षागत रूपमा १ देखि ३, ४ र ५, ६ देखि ८ मा समाविष्ट गर्नुपर्ने विषयवस्तुहरू टिपोट गरी प्रस्तुत गरिएको थियो।
कार्यशालाको समापनमा आफ्नो मन्तव्य राख्नुहुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिव प्रसाद हुमेगाँइले पाठ्यक्रम परिमार्जनको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

उहाँले हामीले दिने शिक्षाबाटै भविष्यका कर्णधार तयार हुने भएकाले समयानुकूल शिक्षाको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत हुमेगाँइले कार्यशाला आयोजनामा सहयोग गर्नुहुने साझेदार संस्थाहरूलाई नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिनुभयो ।
चाँगुनारायण नगरपालिकाको हलमा सञ्चालित १ दिने कार्यशालामा परामर्शदाता राजकुमार लम्साल, आइसेट नेपालका कार्यक्रम अधिकृत अशोक महर्जनले समुहकार्यमा सहजिकरण गर्नुभएको थियो । कार्यशालामा चाँगुनारायण नगरपालिकाका विभिन्न ९ वटा विद्यालयका शिक्षक, आइसेट नेपालका फिल्ड अधिकृत भरत ढुङ्गाना, सहारा परियोजनाका कार्यक्रम सहायक सञ्जय अवाल, ट्राफिक प्रहरीहरू लगायत विभिन्न शाखागत कर्मचारीहरू गरी ४१ जनाको उपस्थिति रहेको थियो ।