चाँगुनारायणका वडाहरुमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सेवा पहुँच र प्रभावकारी सहयोग सम्बन्धि अभिमुखिकरण सम्पन्न

8

चाँगुनारायण, भक्तपुर ।

चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सेवा पहँुच र प्रभावकारी सहयोग सम्बन्धि अभिमुखिकरण शुरु गरेकोे छ ।
भाद्र ९ गते चाँगुनारायण नगरपालिकाको वडा नं २, दुवाकोटमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । २ नं वडाका वडा अध्यक्ष सोम प्रसाद प्रधानको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वडा सदस्यहरु उमेश प्रधान, राधादेवी गैँडा, सीता मिजार, प्रेम खत्री वडा, सचिव राधाकृष्ण गेलाल, चाँगुनारायण नगरपालिकाका सहायक महिला विकास अधिकृत खिला कुमारी मल्ल, जन स्वास्थ्य निरिक्षक बलराम तिमिल्सिना, परियोजना सहायक संजय अवाल ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष लक्ष्मी भक्त सुवाल, भक्तपुर रेडक्रसको कार्यालय प्रमुख उमा थापा लगायत ज्येष्ठ नागरिक मिलन चौतारीका सदस्यहरु, स्वास्थ्य स्वयंसेविका, रेडक्रस दुवाकोट उपशाखाका स्वंसेवकहरु र कर्मचारीहरु गरी ३२ जनाको उपस्थिती रहेको थियो ।
वडा अध्यक्ष सोम प्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाले अक्सिजन निःशुल्क रुपमा वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु संचालन गरिरहेको जानकारी दिनुभयो । ज्येष्ठ नागरिक मिलन चौतारीहरु आवश्यकता अनुसार गठन र पूर्नगठन गरिएको बताउनुभयो । सहभागि सबैलाई स्वागत गर्नुहुदै सदस्य उमेश प्रधानले ज्येष्ठ नागरिकहरुका लागि आवश्यक योजनाहरु ज्येष्ठ नागरिक मिलन चौतरी मार्फत वडामा पेश गर्नुहुन अनुरोध गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको कार्यालय प्रमुख उमा थापाले ज्येष्ठ नागरिकहरुको लागि परियोजना संचालनको आवश्यकता, महत्वका बारेमा जानकारी गराउनुभएको थियोे । उहाँले परियोजनाको अन्तर्गत संचालन भईसकेका गतिबिधिहरु साथै भविष्यमा हुन गईरहेको गतिविधिहरुको बारे जानकारी गराउनु भएको थियो ।
चाँगुनारायण नगरपालिकाका जन स्वास्थ्य निरिक्षक बलराम तिमिल्सिनाले नसर्ने रोगहरु बारे जनचेतनामुलक प्रस्तुतीकरण गर्नुहुदै नसर्ने रोगहरु कसरी लाग्छन् यस रोगले गर्न सक्ने क्षति र यस बाट बच्ने उपायहरुको बारेमा जानकारी दिनु भएको थियो ।सहायक महिला विकास अधिकृत खिला कुमारी मल्लले सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया लगायत राष्ट्रिय परिचय पत्र वितरण, निःशुल्क स्वास्थ्य विमा, ज्येष्ठ नागरिकको सेवा पहँुचमा वृद्धि र प्रभावकारी सहयोगका बारेमा जानकारी दिनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुले परियोजना सञ्चालनका बारेमा जानकारी पाउँदा खुशी ब्यक्त गर्नुहुँदै उहाँहरुले भोग्दै आएको कठिनाइहरुको बारेमा पनि अवगत गराउनुभएको थियो । उहाँहरुले नगरपालिकाले प्रदान गरिरहेको स्वास्थ्य सेवालाइ अझ प्रभावकारी बनाउने, घरदैलो स्वास्थ्य परिक्षण, निःशुल्क स्वास्थ्य विमा लगायतका विषयमा सुझाव दिनुभएको थियो ।
चाँगुनारायण नगरपालिकाका ज्येष्ठ नागरीकहरुको स्वास्थ्य तथा सम्पन्नतामा सुधार ल्याउन सहयोग गर्ने, ज्येष्ठ नागरीकहरुको लागि आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरीकहरु प्रति समाजले गर्ने कार्य तथा व्यवहारहरुमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यका लागि संचालन भइरहेको सहारा परियोजना ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा संचालन गरिनेछ । अभिमुखिकरण कार्यक्रम भाद्र ११ गते वडा नं ३ र ४, भाद्र १२ गते १ र ५, भाद्र १३ गते वडा नं ६ र ७,भाद्र १४ गते ८ र ९ मा गरी दैनिक २ वटा वडाका दरले सञ्चालन गरिनेछ ।