नारायण ज्ञवालीको “आँखामा कैलास अँजुलीमा मानस“ कृति सार्वजनिक

9

काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा हालै राजधानीमा आयोजित एक समारोहमा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा साहित्यकार रोचक घिमिरेले साहित्यकार नारायण ज्ञवालीद्वारा लिखित यात्रावृत्तान्त “आँखामा कैलास अँजुलीमा मानस” कृतिको लोकार्पण गर्नुभयो । प्रमुख अतिथि घिमिरेले लेखकलाई बधाई दिँदै यात्रासाहित्यमा राम्रो कृति आएको औँल्याउनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष प्रा. डा. भागवत ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समालोचक प्रा. डा. लेखप्रसाद निरौलाले लोकार्पित कृतिको समीक्षा गर्दै नेपाली यात्रासाहित्यको मात्रै नभएर इतिहास र सूचनाका दृष्टिकोणले पनि यो कृति महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । समारोहमा नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौड्याल, पूर्व सचिव कृष्ण ज्ञवाली, रामबाबु नेपालले शुभकामना मन्तव्य व्यक्त गर्दै लेखक ज्ञवालीद्वारा अत्यन्तै मेहनतसाथ सूचनाको सङ्कलन गरिएको बताउनुभयो ।
यसअघि कविता विधामा समर्पित कृतिकार ज्ञवालीले मानसरोवरको यात्रा गरेर फर्किएपछि यात्रावृत्तान्त लेख्ने इच्छाअनुसार यो कृति आएको बताउनुभयो । मानसरोवरकै यात्राबाट फर्कनुभएका दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले कृतिकार ज्ञवालीलाई बधाई दिँदै कृतिसफलताका निम्ति शुभकामना दिनुभयो । कार्यक्रमका सभापति प्रा. डा. भागवत ढकालले ज्ञवालीद्वारा लिखित र दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित कृतिको प्रशंसा गर्दै लेखकलाई बधाई र शुभकामना दिनुभएको थियो ।
प्रतिष्ठानका संस्थापक तथा सल्लाहकार ठाकुर शर्मा भण्डारीले अतिथिहरूलाई मन्तव्यले स्वागत गर्नुभएको थियो भने प्रतिष्ठानका महासचिव यादव भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रम कृतिकार नारायण ज्ञवाली र उहाँकी धर्मपत्नी कमला ज्ञवालीको ५१औँ विवाहोत्सवका अवसरमा आयोजना गरिएको थियो । नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा नेपाली साहित्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।