काठमाडौँ । चेक बाउन्सका सबै मुद्दा सरकारवादी हुने व्यवस्था गर्न प्रतिनिधि सभाको अर्थ समिति एकमत भएको छ । बिहीबार अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ माथि संशोधन हाल्ने सांसदहरूसँग छलफल राखिएको थियो ।
छलफलको क्रममा सांसदहरूले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दोस्रो संशोधनमा चेक बाउन्स प्रमाणित गराउन ३० दिनको म्याद नराख्न समेत माग गरेका थिए ।
‘चेक बाउन्स भएको प्रमाणित गराउन ३० दिनको म्याद राखिनु हुँदैन । चेक नसाटिएको खण्डमा चेक दिने जो हो उसैले सोही दिन दिनुपर्छ । पैसा छैन भने सिधै मुद्दा चल्न पाउने कुरालाई थप्नु पर्छ,’ शाहीले भने, ‘३० दिनको ठाउँमा संशोधन गरौँ । यति भयो भने चाहिँ अपराधीकरण रोकिन्छ भन्ने मलाई लाग्छ ।’
यस्तै सांसद गंगा कार्कीले पनि ३० दिनको अवधि हटाउनु पर्ने र नहटाए ब्याज तिराउने व्यवस्था गर्न माग गरे ।
‘चेक बाउन्स रोक्नलाई ३० दिनको हद राखिनु हुँदैन । ३० दिनको हद राख्नाले रकम नभएको खाताको चेक दिने समस्या झन् बढ्छ । यसकारण ३० दिनको समयभित्र पनि केहि न केही ब्याजको अंश राखिनुपर्छ,’ कार्कीले भने ।
सांसद वर्षमान पुनले चेक सम्बन्धी ठगी हुने प्रवृत्ति बढेको र रोक्न कडा कानुनको आवश्यक रहेको बताए ।
‘पैसा छैन भनेपछि चेक दिनु भएन । चेक साटिएन भने कसरी हुन्छ आर्थिक कारोबार मिलाउनु पर्छ,’ पुनले भने, ‘३० दिनको समयमा नदिए अदालती कारबाहीमा गएर पनि मेलमिलाप बनाउनु राम्रो हो जस्तो लाग्छ ।’
यस्तै उनले ३० दिनबाट घटाएर १५ दिन राख्न प्रस्ताव गरे । सांसद मेटमणि चौधरीले पनि ३० दिनबाट घटाएर १५ दिन राख्न माग गरे ।
तर सांसद प्रकाशशरण महतले ३० दिनको म्याद राख्न आवश्यक भएको बताए ।
‘एक महिना ठुलो समय होइन,’ महतले भने, ‘३० दिनपछि पनि चेकमा पैसा भएन भने कुन प्रक्रियामा जाने भन्ने छलफल गरौँ ।’ यस्तै ३० दिनको अवधिमा ब्याज तिराउने व्यवस्था राख्न नहुने महतले धारणा राखे ।
‘फेरी मुद्दाको प्रक्रियामा जाने भएकाले १० प्रतिशत ब्याज राख्नु हुँदैन । जरिवाना राख्दा हुन्छ ब्याज उपर्युक्त हुँदैन । एक महिनाको लागि किन जरिवाना लगाउने त,’ महतले भने ।
कानुन मन्त्रालयका सहसचिव हुमबहादुर केसीले पनि चेक साट्न गएको दिनदेखि ३० दिनसम्म खातावालाई म्याद दिनु उचित भएको बताए । त्यसपछि मात्रै चेक बाउन्सको मुद्दामा जानसक्ने व्यवस्था गरिने केसीको भनाइ छ ।
सांसद वर्षमान पुनले चेक अनादर गरेको ब्यहोरा प्रमाणित गर्ने कार्यविधि राष्ट्र बैंकले आफैँ बनाउनु पर्ने विधेयकमा व्यवस्था गर्न माग गरे ।
‘अर्थ मन्त्रालयको परामर्श लिइराख्नु पर्दैन । किनकि अर्थ मन्त्रालयको सचिव राष्ट्र बैंकको समन्वयमा रहिरहनुहुन्छ,’ परामर्शमा भन्दा बैंकलाई होच्याएको जस्तो हुन्छ,’ पुनले भने ।
तर सांसद महतले कसुरसँग जोडिएको विषय कानुनी प्रक्रियामा जाने भएकाले सम्बन्धित मन्त्रालयले परामर्श लिनुपर्ने भएकाले चेक अनादर गरेको ब्यहोरा प्रमाणित गर्ने कार्यविधि अर्थ मन्त्रालयको परामर्श लिनुपर्ने बताए । रातोपाटीबाट