दुई सातामा पनि फेला परेनन् सुनकोसीमा बेपत्ता भक्तपुरका तीन जना 

97
भक्तपुर । सुनकोसीमा जिप खस्दा बेपत्ता भएका तीन जना दुई सातासम्म फेला पर्न सकेका छैनन् । ८ भदौमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुँलेबाट सुनकोसी नदीमा जिपसहित खसेका तीन जना अझैसम्म फेला परेका छैनन् ।
बेपत्ता हुनेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय पुनीत सैंजु र ३७ वर्षीय बलराम घटुवा छन् । गाडीबाट हाम फालेका कारण सुशान्त कक्षपति भने बाँच्न सफल भएका थिए ।
खोटाङको हलेसी बाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको गाडी साँझ करिब साढे ५ बजेतिर नदीमा खसेको थियो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोलीले सुनकोसीमा खोजी गरेर गाडी फेला पारेको थियो । खोजी अझै जारी रहे पनि मान्छे भने नभेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताए ।