विपिले देखाएको बाटो भुल्नु हुँदैन – थापा

7

भक्तपुर :- नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको एक सय एक औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस भक्तपुरले सोमवार पार्टीको निर्माधिन भवन परिसर सल्लाघारीमा वृक्षारोपण तथा माल्यापर्ण कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले विपिले देखाएको बाटो राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कसैले पनि भुल्न नहुने बताउनुभयो । उहाँले विपिको समाजवादी सिद्धान्त विश्वले अंगीकार गरेको बताउँदैं विपिका भनाइलाई मूलमन्त्र ठानेर अगाडि बढे कांगे्रसले सधै जनताको मन जित्ने जिकिर गर्नुभयो ।
उहाँले पार्टीमा गुट उपगुट र त्यो यो भन्दा पनि ईमान्दार भएर काम गरे जनताको मन जित्ने सक्ने तर्क राख्दै आगामी ८४ को निर्वाचनमा पनि भक्तपुरमा कांग्रेसलाई पहिलो पार्टी बनाउन अहिलेदेखी जनताको नजिक भएर उनीहरुका सुख दुःखमा सहकार्य गरी अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
उहाँले मुलुकको सार्वभौम सत्ता रक्षाको लागि विपिले राष्ट्रिय मेलमिलापको नीति लिएको जस्तै वर्तमान अवस्थामा राजनैतिक स्थायित्वको लागि कांग्रेसले नेकपा एमालेसँग सत्ता सहकार्य गरेको बताउनुभयो ।
संक्षिप्तरुपमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, भक्तपुर क्षेत्र नं. १ का सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ, भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, बागमती प्रदेश समिति सदस्य सुमन कार्की, मध्यपुर थिमि नगरसभापति हरीदास प्रजापति, सूर्यविनायक नगरसभापति निशान ढुंगेल, चाँगुनारायण नगरसभापति शिवहरी केसी, भक्तपुर नगरसभापति राजेन्द्र तमखू, वडा सभापतिहरुलगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा सभापति थापाले नेपाली कांग्रेस भक्तपुरको निर्माणाधिन भवन परिसरभित्र समीको वृक्षारोपण गर्नुभएको थियो ।