चाँगुनारायणका विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम शुरु

11

चाँगुनारायण, भक्तपुर

चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंंगको साझेदारीमा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजना अन्तर्गत वडास्तरमा गठित ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रमको शुरुवात गरेकोछ ।

ज्येष्ठ नागरिक मिलन चौतारीमा आवद्ध ज्येष्ठ नागरिकहरुको सक्रियतामा वडामा रहेका विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु बीच अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

चाँगुनारायण नगरपालिका वडा नं २ को श्री आजाद माध्यामिक विद्यालय र वडा नं ६ को गडगडे आधारभूत विद्यालयबाट शुरु गरिएको अन्तरसंवाद तथा अन्र्तक्रिया कार्यक्रममा क्रमशः वडा नं २ र ६ का ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्षहरु लक्ष्मी भक्त सुवाल र कृष्ण प्रसाद बास्तोला लगायत उपस्थित ज्येष्ठ नागरिकहरुले जीवनका भोगाईहरु विद्यार्थीहरु माझ पस्किनु भएको थियो ।

उहाँहरुले बिद्यार्थीहरुको पहिलो पाठशाला घर र पहिलो गुरु बुवाआमा हुने भएकोले विद्यार्थीहरुले धेरै कुरा परिवारबाटै सिक्ने बताउनुभयो । उहाँहरुले नैतिक शिक्षामा जोड दिनुहुदै परिवार र समाजले बिद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिने पनि बताउनुभयो ।

विद्यार्थीहरु माझ आफ्ना अनुभव आदान प्रदान गर्न पाँउदा ज्येष्ठ नागरिकहरुले खुशी व्यक्त गर्नुभएको थियो । सहारा परियोजनाले यो अवसर जुराई दिएकोमा चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रसलाई संयुक्त रुपमा धन्यवाद दिनुहुदै वडास्तरीय ज्येष्ठ नागरिक मिलन चौतारीको तर्फबाट यस प्रकारका अन्तर पुस्ता संवादलाई अन्य विद्यालयहरुमा पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । विद्यार्थीहरुले पनि ज्येष्ठ नागरिकका कुराहरु बडो चाखपूर्व सुन्नुभएको थियो । विद्यार्थी भाइ बहिनीहरुले आफ्ना जिज्ञाशा पनि राख्नुभएको थियो ।

उहाँहरुले ज्येष्ठ नागरिकहरुको सम्मान गर्नुपर्ने र वहाँहरुको कुरा सुन्ने र साथमा केही समय विताउनाले उहाँहरुलाई एक्लोपन नहुने बताउनुभएको थियो । हाम्रा परिवारमा रहनुभएका हजुरबुवा र हजुरआमाहरुको सेवा गर्नुपर्ने कुरामा पनि विद्यार्थी भाइबहिनीहरुले जोड दिनुभएको थियो ।
अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रममा रेडक्रसका तर्फबाट कार्यक्रम संयोजक उमा थापा, नगरपालिकाका कार्यक्रम सहायक सञ्जय अवालले सहारा परियोजना र कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम संयोजक उमा थापाले ज्येष्ठ नागरिकहरु ज्ञानका खानी भएकोले यस प्रकारको अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रमले ज्येष्ठ नागरिकमा भएको ज्ञानको भण्डारबाट विद्यालयका विद्यार्थी भाइबहिनीहरु लाभान्वित हुने बताउनु भयो । कार्यक्रमको समापन गर्नुहुदै आजाद माविका प्रधानाध्यापक इन्दमणि गिरी र गडगडे आधारभूत विद्यालयका प्रधानाध्यापक पुर्ण तामाङ्गले नैतिक शिक्षाको महत्वमाथी प्रकाश पार्नुहुदै आफ्नो विचारहरु राख्नु भएको थियो ।

कार्यक्रममा सहारा परियोजनाका सामाजिक परिचालकका साथै विद्यालयका शिक्षकहरुको पनि उपस्थिती रहेको थियो ।
विभिन्न विधा तथा क्षेत्रमा लामो समय कार्य गरी अनुभव प्राप्त ज्येष्ठ नागरिकहरुको ज्ञान र शीप पूस्तान्तरण गर्ने उद्धेश्यले यस प्रकारको अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम शुरु गरिएको कुरा स्वस्थ्य बुढ्यौली परियोजनाका चाँगुनारायण नगरपालिकाका विपद् इर्काई प्रमुख तथा सहारा परियोजनाका संयोजक दिनेश थापाले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख श्री जीवन खत्रीले नगरबासी ज्येष्ठ नागरिकहरुले स्वस्थ्य, सक्रिय, सुरक्षित र मर्यादित जीवनयापन गर्न सकुन् भन्ने उद्धेश्यले चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंगको साझेदारीमा स्वस्थ्य बुढ्यौली परियोजना नगरपालिकाका ९ वटै वडाहरुमा गठित ज्येष्ठ नागरिक मिलन चौतारी अन्तर्गत सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।