संवाहक डटकम नौ वर्षमा प्रवेश

29

भक्तपुर। संवाहक मिडिया हाउसद्वारा सञ्चालित संवाहक डटकम आजबाट आफ्नो आठ वर्षको यात्रा पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ। अनलाइन संस्करणको यो यात्रामा विविध चुनौतीहरूको सामना गर्दै, संवाहक डटकमले सत्य, तथ्य र निष्पक्ष सूचनालाई नागरिकसम्म पुर्‍याउने आफ्नो प्रतिबद्धता दोहोराउँदै अघि बढिरहेको छ।

संवाहक डटकमले आफ्नो मुख्य जिम्मेवारीको रूपमा नागरिकलाई सुसूचित राख्न र समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी तथा अनियमितता जस्ता नकारात्मक पक्षहरूलाई निरुत्साहित गर्दै समाजका सकारात्मक पक्षलाई प्रोत्साहन गर्ने काम गर्दै आएको छ। पछिल्लो समय, अनलाइन सञ्चारमाध्यमहरू नागरिकको सूचनाको पहिलो स्रोत बन्दै गइरहेका छन्, र यसै परिप्रेक्षमा संवाहक डटकमले आगामी दिनहरूमा अझ सशक्त र निष्पक्ष पत्रकारिताको यात्रा तय गर्ने लक्ष्य लिएको छ।

सूचना र प्रविधिको तीव्र विकाससँगै, संवाहक डटकमले क्षणभरमा विश्वभरका समाचार र सूचना प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। अनलाइन पत्रिकाको यो यात्रा एक्लो प्रयासको परिणाम होइन, देश तथा विदेशमा निरन्तर खटिरहेका संवाददाताहरू, पाठक वर्ग, शुभचिन्तकहरू र सहकर्मीहरूको समर्थनले नै यो सम्भव भएको हो। यस सफल यात्राका लागि सबैप्रति संवाहक डटकम कृतज्ञ छ।

संवाहक डटकमले भविष्यमा पनि पाठक वर्गको सुझाव र सल्लाहलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, अनलाइन सञ्चारमाध्यम सञ्चालनका लागि प्रविधिगत सहयोग पुर्‍याउने Code For Core Innovation को टिम र संवाहक डटकमको सम्पूर्ण टिमलाई विशेष धन्यवाद व्यक्त गरिएको छ।