साँगाको झोलुङ्गे पुलको टिकट काउण्टर तोडफोड गर्ने आशिका तामाङविरुद्ध प्रहरीमा जोहरी दर्ता

24

भक्तपुर, 
आफुलाई अभियन्ता बताउने आशिका तामाङलाई कानूनी कारवाही गर्न सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा मंगलवार जाहेरी दिएको छ । सूर्यविनायक नगरपालिकाको वडा नं. ९ र १० को बीचमा रहेको साँगाको झोलुङ्गे पुलमा रहेको टिकट काउण्टर तोडफोड गरी टिकट कब्जामा लिई आगजनी गरेको र गाली बेइज्जती गरेको आरोपमा नगरपालिकाले उनी विरुद्ध प्रहरीमा जाहेरी दिएको हो ।
तामाङले सार्वजनिक स्थलको झोलुङ्गे पुल ओहोरदोहोर गर्न पनि शुल्क तिर्नुपरेको भन्दै त्यसको विरोध गर्दै त्यहाँ रहेको टिकट काउण्टर तोडफोड गर्ने, टिकट कब्जामा लिई जलाउने र नगरपालिकालाई गाली गलौज समेत गरेका थिए । उनले उक्त घटनाको भिडियो सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरेका थिए ।
सोही घटनाको विषयलाई लिएर सूर्यविनायक नगरकार्यपालिकाको मंगलवार बसेको आकस्मिक बैठकले तामाङविरुद्ध कानूनी कारवाहीमा जाने निर्णय गरेको थियो । सो निर्णय बमोजिम तामाङलाई हदैसम्मको सजाय माग गर्दै प्रहरी वृत्तमा जाहेरी दिएको नगरप्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो ।
उहाँले साँगामा उक्त पुल त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको बताउँदैं सो पुल ठेक्कामा लगाई उठेको राजश्व सोही क्षेत्रको विकासमा खर्च गर्ने योजना अनुसार कार्य भइरहेको दावी गर्नुभयो । उहाँले सो क्षेत्रमा हाल सार्वजनिक शौचालयलगायतका पूर्वाधार निर्माण भइरहेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिकार प्रयोग गरी उक्त पुल ठेक्का लगाएको जानकारी दिनुभयो । उहाँले स्थानीय वडा नं. ९ र १० का जनतालाई निःशुल्क, सूर्यविनायक नगरपालिकाका अन्य वडाका बासिन्दालाई ५० प्रतिशत छुटको व्यवस्था गरी प्रति व्यक्ति एक पटकलाई रु २० लिने गरी ठेक्का लगाएको जानकारी दिनुभयो ।
नगरप्रमुख बासुदेव थापाले निज तामाङलाई सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, गाली बेइज्जतीलगायतमा कानूनी कारवाहीको माग गर्दै जाहेरी दिएको बताउनुभयो । “यो अराजक गतिविधि हो । सार्वजनिक रुपमा केही गुनासा भए नगरपालिकामा आएर राख्न सक्नुहुन्छ । यसरी तोडफोड आगजनी हुँदा सह्य हुँदैन । यस्ता अराजक गतिविधिलाई बेलैमा नियन्त्रण गर्नुपर्ने महशुस गरी कानूनी उपचारमा जाने निर्णय गरिएको हो,” उहाँले भन्नुभयो ।
साँगाको उक्त झोलुङ्गे पुल स्थानीय पूर्वाधार विभागले आर्थिक वर्ष २०७५-०७६ मा ठेक्का गरी एक वर्षमा निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले आ.व. २०७९-८० मा ३५ लाख रुपैंयामा रविचन्द्र कन्स्ट्रक्सन प्रा.लि.लाई उक्त पुलको शुल्क उठाउने ठेक्का दिएको थियो । यसवर्ष ३९ लाख ५५ हजार ५५५ रुपैंयामा त्रिशुल इन्टरनेशनल प्रा.लि.ले ठेक्का पाएको छ ।