चाडपर्वलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले सुरु गर्‍यो अनुगमन

38

 

रूपक ढुङ्गाना
भक्तपुर । चाँगुनारायण नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरेको छ, जसको मुख्य उद्देश्य बजारमा उपलब्ध खाद्य वस्तुहरूको गुणस्तर र सुरक्षा सुनिश्चित गर्नु हो। विशेषतः चाडपर्वको समयमा अखाद्य वस्तु, मिसावटयुक्त सामग्री, म्याद नाघेका सामानको बिक्री वितरण र अत्यधिक मूल्य वृद्धिका कारण उपभोक्ताहरूलाई नोक्सान हुन नदिन अनुगमनलाई कडाइका साथ अघि बढाइनेछ।

नगरपालिकाले विभिन्न पसलहरू, जस्तै किराना, माछा–मासु, डेरी, तरकारी, फलफूल पसलहरूको निरीक्षण पहिलो चरणमा गर्नेछ। यस क्रममा तोकिएको मापदण्ड पूरा नगरेको पाइएमा कानुनी कारबाही गरिने छ। उपभोक्ताको उजुरीको आधारमा पनि अनुगमन नियमित रूपमा गरिनेछ र कम्तीमा महिनाको एक पटक उपभोक्ता हित संरक्षण समितिको बैठक बसेर अनुगमनको समीक्षा गरिने छ।

यस अभियानलाई सफल बनाउन उपभोक्ता र व्यवसायीलाई कानुनी जानकारी दिने, प्रचारप्रसार सामग्री वितरण गर्ने, र सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।