सुनसरीमा ज्वाईंलाई दाइजोस्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

6

सुनसरी । तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै छ। मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ ।

यहाँका मरिक समुदायमा हालसम्म छोरीको विवाह गर्दा दाइजोमा गाउँनै दिने गरिएको छ । सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाइजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले जानकारी दिए ।

मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाइजोस्वरुप दिने गरेको भट्टाईले सुनाए । हरिनगर–३ का चन्दन मरिकले भने, “हो ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन छ । यसको उद्देश्य छोरी र भोलि जन्मिने सन्ततीलाई सहज होस् भन्ने हो ।”

मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्री गर्ने हो ।

चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिर्वाय भएकाले एकजनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्री गर्न नपाइने आन्तरिक सहमति हुन्छ । विशेष गरी ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ । यजमानले लिएको सामग्रीवापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन् ।

विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ ।

कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिबानासमेत गर्ने गरिएको छ ।

आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ ।

एक गाउँ बेच्दा तीन लाखदेखि चार लाख वा सामाजिक मूल्यांकनअनुसार रकम लिने दिने गरिन्छ । सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरुप दिने गरिउको हरिनगर–२ का वीरेन्द्र मरिकले बताइए ।

दाइजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उनले सुनाए ।