प्रथम सूर्यविनायक महोत्सव हुने

11

सूर्यविनायक :- राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.को आयोजनामा आगामी मंसिरमा प्रथम सूर्यविनायक कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ ।
बिहिबार सूर्यविनायक नगरपालिका ३ बालकोटमा गरिएको पत्रकार सम्मेलनमा मंसिर ७ देखि २२ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

बालकोट हनुमत्ते करिडोर सँगै आयोजना गरिने महोत्सवमा स्थानीय उत्पादनका साथै बाँस, नर्सरी, जुत्ता, खानेकुरा, सांस्कृतिक बाजा लगायतलाई प्रवद्र्धन गरिने संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.का प्रेम प्रसाद दाहाल (दीपक)ले जानकारी दिए । नेपालमै उत्पादन गरिएको बाल उद्यान समेत सञ्चालन गरिने उनले बताए ।

मंसिर १४, १५, २१ र २२ गते बाहेक अन्य दिन प्रवेश नि:शुल्क रहने आयोजकले जनाएको छ । ती दिन विशेष साँस्कृतिक साँझको आयोजना गरिने राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका महासचिव चन्द्रमणी गौतमले जानकारी दिए । कार्यक्रममा स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने छ ।

साँस्कृतिक कार्यक्रममा पनि भक्तपुर जिल्लाका कलाकर्मीलाई पहिलो प्राथमिकता दिने राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए । महोत्सव लक्षित प्रचारप्रसारलाई तीब्रता दिने उनले बताए ।

सूर्यविनायक नगरपालिका भित्रका हरेक वडालाई एक एक वटा स्टल उपलब्ध गराउने र सोही स्टलमा वडामा उत्पादन हुने कृषि तथा हस्तकलाका सामग्रीलाई प्रदर्शनीमा राख्ने वातावरण मिलाउने आयोजकले जनाएको छ।महोत्सवमा काठे लोक दोहोरी गीत प्रतियोगीता, विद्यालयस्तरिय नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने अध्यक्ष ढुंगानाले बताए ।