दैलेखमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो

5

सुर्खेत । स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको टुंगो लगाएको छ ।

बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको नाम टुङ्गिएको कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले जानकारी दिए ।

‘आज हामीले दुई जनाको नाममा निर्णय गरेर केन्द्रमा पठाएका छौँ,’उनले भने, ‘दुबै जना युवा र सम्भावना बोकेका नेताहरू हुनुहुन्छ ।’

यी दुई ठाउँमा यसअघि ०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरूको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।
कांग्रेसबाट निर्वाचित महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको ०७९ माघ २७ गते हृदयघातका कारण निधन भएको थियो ।

उनले त्यो बेला एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । गुरुङले २९ सय ९ मत प्राप्त गरेका थिए भने एमालेका उपाध्यायले २५ सय १९ मत प्राप्त गरेका थिए । यस्तै समाजवादीको उम्मेदवारले १३ सय मत प्राप्त गरेका थिए ।

कांग्रेस जिल्ला सभापति रेग्मीले महावुका कांग्रेसको जनमत राम्रो रहेकोले कांग्रेसले सहजै जित्ने दाबी गरे । उम्मेदवार बनाइएका भण्डारी युवा नेता हुन् । उनी यसअघि पार्टीको जिल्ला समिति सदस्य, नेपाल विद्यार्थी संघ मध्यपश्चिम विश्वविद्यालयका सभापति समेत भइसकेका व्यक्ति हुन् ।

यस्तै दुल्लू–१३, को उम्मेदवार बनाइएका रेशम बहादुर शाही यहाँभन्दा पहिला वडा कमिटी सचिव र अहिले नगरकार्य समितिको कोषाध्यक्ष रहेका छन् । उनी जनतामा लोकप्रिय छन् ।