उपनिर्वाचनका लागि निर्वाचन अधिकृत तोकिए (सूची)

10

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।

निर्वाचन आयोगको बैठकले उपनिर्वाचनका लागि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जनाएका छन्। आयोगले ३२ जना न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको हो।

उनीहरूले कात्तिक ३० गतेसम्म सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडा केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने आयोगले जनाएको छ। अब उपनिर्वाचन हुने स्थानमा निर्वाचन सम्बन्धी कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन्।

यस्तै, आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली पनि प्रकाशन गरेको छ। आयोगका अनुसार, आउँदो मंसीर १५ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिलाई मतदाता नामावलीमा समावेश गरिएको छ। मंसीर १६ गते उपनिर्वाचन हुनेछ।

अहिले देशभर एक करोड ८१ लाख २८ हजार ८३२ मतदाता रहेका छन्। जसमा महिला ८९ लाख तीन हजार १९७, पुरुष ९२ लाख २५ हजार ४४८ र अन्य १८७ मतदाता रहेका छन्।

त्यस्तै, प्रदेशमा सबैभन्दा बढी बागमतीमा ३४ लाख ९४ हजार ६५१ र सबैभन्दा कम कर्णालीमा १० लाख १८ हजार ६०१ मतदाता रहेको आयोगले जनाएको छ।

जिल्लागत रुपमा सबैभन्दा बढी मोरङमा सात लाख ४० हजार ९९२ र सबैभन्दा कम मनाङमा ६ हजार ८९३ मतदाता रहेका छन्।

उपनिर्वाचन हुने स्थानीय तहमा दुई लाख २६ हजार ७९९ मतदाता रहेका छन्। आयोगले उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकेको छ।