कांग्रेस योद्धा दिल बहादुर गुरुङको १०२ वर्षको उमेरमा निधन

25

पोखरा: नेपाली कांग्रेसका पुराना योद्धा र प्रजातन्त्र सेनानी दिल बहादुर गुरुङ, जो ‘कांग्रेस बुढा’का रूपमा प्रख्यात हुनुहुन्थ्यो, उहाँको मंगलबार बिहान १०२ वर्षको उमेरमा निधन भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य र संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले पोखराको रामघाटस्थित बौद्ध अर्घौसदनमा उहाँको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै श्रद्धाञ्जली अपर्ण गर्नुभयो। उहाँले गुरुङको योगदानलाई सम्झिँदै उहाँ नेपाली कांग्रेस मात्र नभई सबै राजनीतिक पार्टी र समुदायका साझा नेता भएको बताउनुभयो।

कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले पनि गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको योगदानको सम्मानमा शोक विज्ञप्ति जारी गर्नुभएको थियो।

गुरुङको जन्म पर्वत जिल्लाको साबिक आर्थरडाँडामा भएको हो। पछि उहाँ पोखरा महानगरपालिका शिवालयचोकमा बसोबास गर्दै आउनुभएको थियो। उहाँ पाँच पटक वडा अध्यक्ष र तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहनुभएको थियो। उहाँ नेपाली कांग्रेस पर्वतको संस्थापक सदस्य पनि हुनुहुन्थ्यो।

गुरुङले शिक्षा क्षेत्रमा पनि ठूलो योगदान दिनुभएको छ। उहाँ पञ्चकोशी मावि लगायतका विद्यालयको संस्थापक हुनुहुन्थ्यो। गाउँमा शिक्षा र प्रजातन्त्रको ज्योति फैलाउन उहाँले खेलेको भूमिकालाई उच्च सम्मानका साथ स्मरण गरिएको छ।

उहाँको अन्त्येष्टिमा पञ्चकोशी समाज, आर्थरडाँडाखर्क, विभिन्न तमु समाज, कांग्रेस नेता, अन्य राजनीतिक दलका नेता, छिमेकी, आफन्त, र धेरै नागरिकहरूको बाक्लो उपस्थिति थियो।

गुरुङका एक श्रीमती, ३ छोरा, ३ बुहारी, ६ छोरी, ९ नाति, ११ नातिनी, ६ पनाति र ३ पनातिनी छन्।

स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धाञ्जली।