भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित बागहिणी मन्दिरमा सन्ध्या आरती थालनी गरिएको छ ।
हरेक शनिवार आरती गर्ने गरी आज देखि बागहिणी मन्दिरमा सन्ध्या आरती थालनी गरिएको बागहिणीका संरक्षकले जानकारी दिएका छन् ।
मन्दिरमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष श्यामकृष्ण नायजु, वडा सदस्य श्याम नायजुश्रेष्ठ, स्थानीय समाजसेवी एवं राप्रपा चाँगुनारायणका अध्यक्ष रमेश अधिकारी लगायत मन्दिरका पुजारी व्यवस्थापन समितिका पदाधिकारीहरू एवं वडाका बासिन्दाहरूको उपस्थितिमा सन्ध्या आरती थालनी भएको हो ।
आरतीको थालनी गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले धर्म रक्षाका लागि तथा आगामी पुस्तालाई हाम्रो परम्परा जानकारी गराउन पनि यस्ता क्रियाकलापले ठुलो टेवा पुञ्याउने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा वडा अध्यक्ष श्याम कृष्ण नायजुले मन्दिरमा निरन्तर रूपमा आरती गर्नका लागि सहयोग गर्न सबैमा आव्हान समेत गर्नुभएको थियो ।
बागहिणी मन्दिर बागेश्वरीमा अवस्थित रहेको छ । बागको मुख बाट पानी आउने ढुँगेधारा भएका कारण तथा तीन तले शिव लिङ्ग भएको स्थान हो बागहिणी । बागहिणीको नामकरण पहिला बाग आएर जहिले पनि स्नान गरी देवीको उपासना गर्ने स्थान भएका कारण यो स्थानलाई बागहिणी भनिने गरेको जानकारहरू बताउँछन् ।