बालबालिकाको संरक्षणसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया

114

भक्तपुर । बालबालिकोको हक, हित तथा अधिकारको संरक्षणका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुले ऐक्यवद्धता जनाएका छन्।

गैरसरकारी महासंघ भक्तपुरको आयोजना तथा समाज सेवा तथा मानव अधिकार (सिविस) को सहयोगमा आयोजना गरिएको सरोकारवालाबीच बालसंरक्षण सम्बन्धी छलफल कार्यक्रम उक्त ऐक्यबद्धता जनाइएको हो ।

कार्यक्रममा बालबालिकाको मानवअधिकार तथा मैलिक हकहरुको कार्यान्वयवको पक्ष अपेक्षित रुपमा हुन नसकेको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरे ।

करिब १२ लाखभन्दा बढी बालबालिकाहरु बालश्रममा रहेको उल्लेख गर्दै बालश्रममा यौन हिंसा, दुव्र्यवहार जस्ता गम्भीर प्रकृतिका अपराधहरु हुने गरेको तथ्याङ्क रहेको बताइएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरुले प्रत्येक पालिकामा बालकोष स्थापना गर्नुपर्ने व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले संघ, प्रदेश तथा स्थानीय गरी तीनवटै सरकारले बालबालिकाको अधिकारको संरक्षण तथा सम्वद्र्धनमा विशेष रणनीतिका साथ काम गरिरहेको बताउनुभयो।

‘बागमती प्रदेश सरकारले विद्यालयमा ८४८ जना नर्सको व्यवस्थापन गरी शिक्षा, स्थास्थ्य लगायतका क्षेत्रमा विशेष कार्य गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘विद्यालयमा नै सामान्य उपचारका पद्धतिहरुको पढाई बारे अभियान शुरु भएको छ, जहाँ बालिकाको लागि रेनेटरी प्याडको निःशुल्क व्यवस्था गरिएको छ ।’

प्रत्येक विद्यालयमा नर्सको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै उहाँले दैनिक ४ जना पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेकाले एचपीपी भ्याक्सिन लगाउने अभियान सरकारले शुरु गरिसकेको उल्लेख गर्नुभयो ।

बालश्रम रोक्न जनचेतनाको साथमा सरोकारवाला सम्पूर्ण निकायको समन्वयमा अभियान चलाउन जरुरी रहेको औंल्याउँदै मन्त्री थापाले विद्यालयसँग आवासको कार्यक्रम बागमती प्रदेश सरकारले शुरु गरेको जानकारी गराउनुभयो ।

प्रदेश सरकारले बालबालिकाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण कार्यहरु गरिरहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा नै विभिन्न कारणले ९ प्रतिशतभन्दा बढी नागरिकले खोप नलगाएको बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सरकारले अन्तर्राष्ट्रिय सन्धी तथा महासन्धीहरुको कार्यान्वयन गरिरहेको उल्लेख गर्दै विभिन्न समस्याहरु समाधान गरी बालबालिकाको संवैधानिक हकअधिकारहरु ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाउनुभयो।

समयको परिवर्तनसँगै विद्यालयमा विभिन्न प्रकारका हिंसाहरु हुने क्रम बढिरहेको प्रति सरकार सचेत रहेको उल्लेख गर्दै उहाँले उक्त जटिलतालाई अन्त्य गर्न लागि पर्ने बताउनुभयो।

शारीरिकमात्र नभई मानसिक रुपमा रहेको विकृति रोक्नलाई घरपरिवार साथै समाजलाई सचेत गराउन आवश्यकता देखिएको औंल्याउँदै उहाँले कार्यविधि बनाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उजुरी तथा सूचना आएपश्चात प्रशासन कानुनी कारवाहीको लागि तयार रहेको उल्लेख गर्दै उहाँले विवाहको उमेर २० वर्ष कायम भएकाले पनि गम्भीर समस्याहरु उत्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले ५१ वटा सूचकको आधारमा नगरपालिकाले बालबालिकाको संरक्षण तथा सम्वद्र्धनका कार्यहरु गरिरहेको उल्लेख गर्दै बालबालिका भविष्यको कर्णधार भएकाले वर्तमान समयमा आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकामा ७ वटा बालगृहरु दर्ता रहेको जानकारी दिँदै उहाँले उद्दार र पुनःस्थापनका कार्यहरुमा नगरपालिका बालबालिकाको साथमा रहेको धारणा राख्नुभयो ।

जनचेतनामूलक कार्यहरु व्यापकमात्रामा गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले नगरपालिकाले बालबालिकालाई सीपसँग जोड्ने र रोजगार बनाउने गरी विद्यार्थीसँग सीप अभियान सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो ।

त्यस्तै राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बालबालिकाको आवाजलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

बालश्रम र विशेष संरक्षणको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले एकीकृत कार्यविधि, अधिकार संरक्षण र सम्बद्र्धनमा जोड दिनुभयो ।

कानुन संशोधनका लागि प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक सुकदेव पौडेलले विद्यालयमा बालबालिकालाई यौनहिंसा गर्ने शिक्षकलाई कारवाही गरिएको उदाहरण दिँदै कारवाही गर्नुपूर्व नियतको प्रकृति बुझ्नुपर्ने बताउनुभयो ।

पीडितले उजुरी दिएमा सुनुवाई हुने विश्वास दिलाउँदै उहाँले तथ्यका आधारमा कारवाही हुने बताउनुभयो।

महिला बालबालिका तथा जेष्ठ नागरिकको सवालमा नेपाल प्रहरी गम्भीर रहेको उल्लेख गर्दै उहाँले पीडितलाई मनोपरामर्स तथा सहकार्यको लागि नेपाल प्रहरीले विशेष भूमिका निर्वाह गरिरहेको बताउनुभयो भने ईट्टाभट्टा व्यवसायी संघका अध्यक्ष नातीकाजी श्रेष्ठले शिक्षा र अवसरको कमिका कारण बालबालिकाहरु अभिभावकसँग काममा आउने गरेको बताउनुभयो ।

ईट्टाभट्टामा काम गर्न आउने बालबालिकालाई स्याहार सुसार गर्ने गरेको उल्लेख गर्दै उहाँले पारिवारिक समस्याका कारण काम गर्न बालबालिका आउने गरेको बताउनुभयो ।

पारिवारिक मिलन तथा रोजगारीका सम्भावनाहरु प्राप्त भए बालश्रम न्युनिकरण हुने भएकाले सरोकारवाला निकायले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा सिविसका प्रतिनिधि उमंग मैनालीले सिविसले गरेका कार्यहरु तथा भावी योजनाहरुको बारेमा प्रस्तुतिकरण गर्नुभयो ।

उहाँले बालसंरक्षण, परिवारिक सशक्तिकरण, जलवायु परिवर्तन, समानता तथा भौगोलिक अवस्थाको उचित व्यवस्थान जस्ता कुराहरुलाई विशेष ध्यान दिन जरुरी रहेको औंल्याउँदै सिविसले हालसम्म २५१ वटा यौनदुव्र्यवहार भएको तथा ८२ जना पीडकलाई कानुनी कारवाहीको दायरामा ल्याएको बताउनुभयो ।

४०८ स्थानीय तहले वाल अधिकार संरक्षण तथा प्रबद्र्धन सम्बन्धी कार्यहरु गरेको, ३९० स्थानमा बाल कल्याण अधिकारी नियुक्त गरेको, २८६ तहमा बालकोष स्थापना भएको तथा ८७ प्रतिशत बालहिंसा अनौपचारिक क्षेत्रमा हुने गरेको तथ्याङ् प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सहभागी बालबालिका तथा सरोकारवाला व्यक्तिहरुले बालबालिकाको समस्याको बारेमा नेतृत्वलाई जानकारी गराउँदै सचेत गराएका थिए ।

सडक, शिक्षा, यातायात, सडक बक्ति तथा अपाङ्गतामैत्री भवनहरु हुनुपर्नेमा उनीहरुको माग थियो । प्रचारप्रसार तथा जनचेतनाको कार्यहरु अभिभावलाई दिनुपर्नेमा सहभागिहरुको जोड थियो ।

त्यस्तै मनोपरामर्श शिक्षकको व्यवस्थापन गरिदिन माग समेत गरे ।

गैरसरकारी महासंघ भक्तपुरका अध्यक्ष अनिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तथा गैससका सचिव रमेश गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।