हेटौँडा । हेटौँडा ५ मा रहेको मकवानपुर रिकभरिङ समूहका युवाहरूका लागि एक महिने पेन्टिङ तालिमको थालनी भएको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तालिम थालनीको उद्घाटन गरेकी हुन्।
रिकभरिङ समूहका महासचिव सन्दीप शाक्यले काम र सीप नभएका कारण परिवारमा पुनर्स्थापना भएपश्चात् फेरि दुर्व्यसनमै फस्ने गरेको जानकारी दिँदै यस्ता तालिम जीवनोपयोगी हुने विश्वास व्यक्त गरे । लागू औषधको प्रयोगलाई छुटाउन सुधार केन्द्रमा रहेकाहरू परिवारमा पुनर्स्थापित भएपश्चात् आयआर्जन र काममा जोडिन मद्दत पु¥याउने उद्देश्यसहित तालिमको आयोजना गरिएको महासचिव शाक्यले जानकारी दिए । अघिल्लो पटक भएको तालिमकै सहभागी बुद्ध लामाले यो पटक ३० जनालाई पेन्टिङ सिकाउने छन् ।
समूहका उपाध्यक्ष शिवनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ५ नम्बर वडाध्यक्ष सुशील घिमिरे, गैरसरकारी संस्था महासङ्घ मकवानपुर अध्यक्ष रमिला सापकोटा, नेपाल मानव अधिकार सङ्गठन जिल्ला अध्यक्ष शर्मिला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।