भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा श्यामसुन्दर श्रेष्ठ (रोविन) सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको शुक्रवार सम्पन्न १७ औं अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा हरिगोपाल त्वायना, सचिवमा श्रीजना कक्षपति, सह–सचिवमा सुमित्रा श्रेष्ठ र कोषाध्यक्षमा कृष्णमान प्रजापतिलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
यसैगरी रविन माक, ज्ञानेन्द्र कायष्ठ, हरिचन्द्र श्रेष्ठ, आकाश बादे, तुल्सीदेवी लाखा, हिराकाजी मानन्धर, सुमन भेले, मिना त्वानाबासु, तारादेवी धन्छा, कृष्णहरी खत्री र सुस्मा श्रेष्ठ कार्यसमिति सदस्य चयन भएको निर्वाचन अधिकृत चन्दनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
संघको विधान अनुसार प्रेमकृष्ण खर्बुजा निवर्तमान अध्यक्षको हैसियतमा कार्यसमितिमा दोस्रो वरियतामा रहनेछन भने संघको नगर समितिमा संयोजकहरु पदेन उपाध्यक्ष हुनेछन । जस अनुसार गणेशमान राजचल, दयाराम मचामसी र सोम तामाङ पदेन उपाध्यक्ष चयन भएका छन ।
यसैगरी संघको महिला उद्यमी समितिको अध्यक्षमा कमलधरी खर्बुजा सर्वसम्मत निर्वाचित हुनु भएको छ । समितिको शुक्रवार नै सम्पन्न १६ औं अधिवेशनले खर्बुजालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सृजना प्रजापति, सचिवमा लक्ष्मी महर्जन, सह–सचिवमा प्रतिमा अणु, कोषाध्यक्षमा उर्मिला श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा कृष्णा प्रजापति, दयालक्ष्मी प्रजापति, रमिला डंगोल, रामलक्ष्मी त्वायना, सरिता राई र रामकेशरी श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत चन्दनकृष्ण श्रेष्ठले बताउनुभयो ।