भक्तपुर । भक्तपुर जिल्लाका १७ हजार ६९१ किशोरीहरुलाई एचपीभी खोप लगाइने भएको छ ।
पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको संख्या बढ्दो रहेका कारण नयाँ विकशित यो खोप नेपालमा पनि दिन लागिएको हो । विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर किशोरीलाई खोप दिन लागिएको हो । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउने तथ्यांक छ ।
नेपाल सरकारले आगामी माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरका झण्डै १७ लाख किशोरीहरुलाई एचपीभी खोप (पाठेघरको मुखको क्यान्सर गराउनेविरुद्धको खोप) लगाउने भएको छ । त्यसमध्ये भक्तपुरका १७ हजार बढी किशोरीहरु रहेका छन् ।
तिनीहरुमध्ये १६ हजार ६ सय २८ जना विद्यालयमा अन्ययनरत र एक हजार ६३ जना किशोरीहरु विद्यालय बाहिरका रहेका छन् । देशभर एकैसाथ देशका विभिन्न ठाउँंका विद्यालयहरुमा खोप केन्द्र राखेर कक्षा ६ देखि १० सम्म विद्यालय जाने किशोरीहरुलाई र अन्य विभिन्न ठाउँंहरुमा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष समूहका किशोरीहरुलाई खोप दिइन लागेको हो । यसका लागि खोप जिल्लाजिल्लामा पुगिसकेको जनाइएको छ । खोप निःशुल्क दिइने छ ।
जिल्ला खोप समन्वय समिति भक्तपुरले एचपीभी खोप अभियान २०८१ अन्तर्गत उक्त अभियान सञ्चालन गर्ने तयारीमा लागेको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले बताए ।