काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि चार ओटामात्र अध्यादेश जारी गरेका राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिएनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वस्त पारेपछि मात्र राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेको खुलेको छ ।
२६ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धीसहित पाँच अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
२९ पुसमा राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१ र लगानीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका थिए ।
मंगलबार राष्ट्रपतिले पौडेलले माघी पर्व मनाउने क्रममा प्रधानमन्त्री ओलीदेखि लिएर पूर्व राष्ट्रपतिहरु, पूर्व प्रधानमन्त्रीहरु एवं हालका मन्त्रीहरु एवं नेताहरुलाई राष्ट्रपति कार्यालयमा स्वागत गरेका थिए ।