चाँगुका खोरिया बासिलाई खानेपानी योजना हस्तान्तरण 

121

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ खोरिया गाउँका बासिन्दाका लागि खानेपानीको सहज उपलब्धताका लागि बनेको आयोजना हस्तान्तरण भएको छ ।

बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले खोरिया खानेपानी उपभोक्तालाई हस्तान्तरण गर्नुभएको हो ।

चाँगुको खोरियामा आयोजित एक कार्यक्रमका बिच उहाँले खोरिया खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र तामाङलाई खानेपानीको योजना हस्तान्तरण तथा उद्घाटन गर्नुभएको हो ।

खानेपानी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री खड्काले बागमती प्रदेशले अवलम्बन गरेको एक घर एक घारा अभियान अन्तर्गत यो आयोजना उपभोक्तालाई हस्तान्तर गरिएको हो । उहाँले खानेपानीको पहुँच वृद्धिका लागि मन्त्रालय तथा बागमती प्रदेश सरकारले काम तीव्रताका साथ गरी रहेको उहाँले बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले पानीका लागि दिन बिताउनु पर्ने अवस्थाको अन्त गर्दै खोरियामा खानेपानीको योजना हस्तान्तरण हुनु खुसीको कुरा भएको बताउनुभएको थियो । उहाँले खानेपानीको योजना हस्तान्तरण हुनु भन्दा पनि सञ्चालन ठुलो कुरा भएकाले यसलाई सही तरिकाले सञ्चालन गरी युगौँ युग सम्म सञ्चालन होस भन्दै शुभकामना दिनुभएको थियो ।

उहाँले खानेपानी मा भएको बेथिति हटाउँदै खानेपानीको चालु भएका योजनाहरूको पनि अनुगमन गरी उक्त आयोजनाहरूको सुचारुका लागि मर्मत संभाव कोषको पनि स्थापना गर्नु पर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा पूर्व बागमती प्रदेश भौतिक योजना मन्त्री कृष्णलाल भँडेल, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, वडा अध्यक्ष रोजबहादुर तामाङ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ५ का डिभिजन प्रमुख लोक बहादुर चौलागाईंले खानेपानी उपभोक्ता समितिलाई शुभकामना दिनुभएको थियो ।

हस्तान्तरण गरिएको आयोजनाबाट हाल १९२ घर धुरी लावान्वीत भएको समेत डिभिजन कार्यालयले जानकारी दिएको थियो ।