स्थानीय कर्मचारी हटाएर श्रीमतीलाई जागिर

40

कालिकोट । जिल्ला कारागार कालिकोटका कार्यालय प्रमुख मानबहादुर विकले सुटुक्क आफ्नी श्रीमतीलाई जागिर लगाएको पाइएको छ । गत साउनदेखि कारागार कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा पदपूर्तिका लागि सूचना नै प्रकाशन नगरी कार्यालय प्रमुख विकले आफ्नी श्रीमती रीता विकलाई खुसुक्क करारमा नियुक्त गरेको पाइएको हो ।

पूर्वकार्यालय प्रमुख जेलर नरबहादुर सार्कीले २०७१ सालदेखि सोही कार्यालयमा काम गर्दै आएकी कार्यालय सहयोगी सरिता शाहीलाई हटाएपछि गत साउन महिनादेखि सो पद रिक्त रहेको थियो ।

रिक्त पदमा जागिरका लागी स्थानीयको निवेदन परे पनि कार्यालय प्रमुख विकले ती निवेदन लत्याउँदै श्रीमती रीतालाई २ माघ २०८१ मा नियुक्ति दिएको भेटिएको छ । यही ९ मंसिरदेखि कार्यालयमा हाजिर भएका कार्यालय प्रमुख विकले सूचना नै प्रकाशन नगरी स्थानीयका निवेदन रद्दीको टोकरीमा फालेर श्रीमतीलाई जागिर खुवाएका हुन् ।

सामान्य लेखापढी गर्ने, आर्थिक अवस्था कमजोर भएका, त्यसैमा पनि स्थानीय हुँदा कार्यालयको कामकाजमा सहज हुने जस्ता व्यक्तिलाई कार्यालय सहयोगीमा नियुक्त गर्नुपर्ने भए पनि प्रमुख विकले श्रीमतीलाई जागिर खुवाएपछि सो विषयप्रति यहाँका स्थानीयले विरोध गरेका छन् ।

‘१० वर्षदेखि काम गर्दै आएकी कर्मचारीलाई हटाउनु गलत थियो, हटेको कर्मचारीलाई पनि पुनर्बहाली गर्न सकिन्थ्यो,’ एक स्थानीयले भने, ‘हामीले त बोल्न मिल्दैन, श्रीमतीलाई हाकिमले जागिर खुवाउनु सुहाउने विषय होइन, विवाद हुन्छ भनेका थियौं तर मान्नुभएन ।’

सहायक प्रमुख जिल्ला अधिकारी विमल गुरुङले स्थानीयका निवेदनलाई बेवास्ता गरेर कार्यालय प्रमुखले आफ्नी श्रीमतीलाई जागिर खुवाउनु सुहाउँदो विषय नभएको प्रतिक्रिया दिए । उनले भने, ‘कुनै पनि कार्यालयले करारमा कर्मचारी राख्न सूचना निकाल्नुपर्ने हुन्छ तर यहाँ यसो गरिएको देखिँदैन आफूखुसी कर्मचारी राखेको देखिएको छ ।’ तर, कारागार प्रमुख विकले विभागसँग सहमति लिएर आफूले श्रीमतीलाई जागिर खुवाएको बताए ।

यसभन्दा बढी केही नबोल्ने भन्दै उनी टेलिफोन कुराकानीबाट अलग भए । सरुवा भएर गएका प्रमुखबाट कर्मचारीको चैतसम्मको हाजिरीमा रातो मसी लगाइएको छ ।

मंसिरमा सरुवा भएका कार्यालय प्रमुख नरबहादुर सार्कीले हटाइएकी कर्मचारी सरिता शाहीको आगामी चैत महिनासम्मको हाजिरीमा रातो लगाएर गएका छन् । गत साउनमा करार सम्झौता सकिएको भनेर हटाइएकी शाहीको फेरि भदौ महिनादेखि कात्तिकसम्म दुई महिनासम्मका लागि करार सम्झौता थप गरेको भए पनि उनले चैत महिनासम्मको रातो लगाएको पाइएको हो । राजधानीको सहयोगमा