भक्तपुर । भक्तपुरको सुडाल अवस्थित बालकुमारी मन्दिर पूनर्निर्माणका लागि जारी महायज्ञमा सन्तोषप्रद तवरले आर्थिक संकलन भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ मा अवस्थित बालकुमारी मन्दिर निर्माणका लागि गत माघ ५ गतेबाट सुरु भएको महायज्ञको चौथोदिनसम्म आउँदा सन्तोषजनक रुपमा आर्थिक संकलन भइरहेको आयोजक समितिले जनाएको छ ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको उक्त मन्दिरलाई मौलिक रुपमा पूनर्निर्माणको मुख्य लक्ष्य सहित जारी महायज्ञले सुडालवासीको मनोकांक्षा पूरा हुने लक्षण देखिएको आयोजक तथा स्थानीयहरुको भनाइ छ ।
सुडालको मिश्रेटारमा जारी श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञमा विभिन्न मनकारी व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक र भौतिक सहयोग गर्ने क्रम जारी रहेको श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती मूल समारोह समितिका अध्यक्ष तिर्थराज घोरसाइने बताए ।
उनले शक्तिरुपिणी माता बालकुमारी देवीको मन्दिर निर्माण गर्ने उद्देश्य राखी आयोजना गरिएको महायज्ञमा पण्डित विजय सिग्देलको मुखारविन्दबाट कथा वाचन भइरहेको र महायज्ञमा धार्मिक आस्थावान व्यक्तिहरुको सहभागिता हौसलाजनक रहेको बताए ।
संगीतमय कथावाचन, भजन कीर्तन, देवलीला, झाँकी, तुलादान, धान्यन्चल, तण्डुलाचल एवम् शान्ति कलश पूजनलगायतका कार्यक्रमका साथ जारी महायज्ञमा श्रृङ्गारिक महाआरतीमा विशेष आर्कषण रहेको आयोजकको भनाइ छ ।
आयोजकका अनुसार हालसम्म करिब नौ लाख रुपैयाँ नगद संकलन भइससकेको छ । स्थानीयले उक्त मन्दिर पूनर्निर्माणका लागि विगतमा पनि महायज्ञ लगाए पनि पूरा हुन नसकेको मनोकांक्षा यो पटकको महायज्ञले पुरा हुने बताए ।
महायज्ञ माघ १३ गतेसम्म सञ्चालन हुनेछ । आयोजक समितिले हरेक दिन संकलन भएको रकम सभामा प्रस्तुत गर्ने गरेको छ ।
चाँगुनारायण नगरपालिकाको समेत समन्वयमा नगरकोट भ्रमण वर्ष २०८२ भव्य रुपमा सफल बनाउन उक्त महायज्ञ सहायक भएको आयोजकको भनाइ छ ।