भक्तपुर । भक्तपुरको पारागन एकेडेमी (ईंग्लिश सेकेण्डरी बोर्डिङ्ग स्कुल) को २२औं वार्षिकोत्सब सम्पन्न भएको छ । भक्तपुरको कमलविनायकस्थित उक्त विद्यालयको २२ औं वार्षिकोत्सब बुधबार ( माघ १६) गतेका दिन भव्यताका साथ सम्पन्न भएको हो ।
विद्यार्थी, अभिभावक, शिक्षाकर्मी तथा विद्यालयका शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता भएको वार्षिकोत्सब, पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले गरेका थिए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं . १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षकहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई आत्मनिर्भर बनाउने ज्ञान दिनुपर्ने बताए ।
उनले देशमा परनिर्भरता बढ्नुमा श्रमप्रति सम्मान नगराउने गलत शिक्षा नीति जिम्मेवार भएको चर्चा गर्दै शिक्षक–शिक्षिकाहरुलाई दीर्घ सम्मानबाट सम्मान गरेका थिए ।
सोही कार्यक्रममा विगत लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार विकास प्रहरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं . १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भक्तपुर शिक्षाको केन्द्र बन्दै जानुमा भक्तपुरका अग्रज शिक्षासेवीहरूको योगदान महत्वपूर्ण भएको बताए । उनले भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्र अनुसार काम गरिरहेको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले शैक्षिक ऋण दिइरहेको, छात्रवृत्ति प्रदान गरिरहेको बताए ।
शिक्षा, स्वास्थ्य र सम्पदाको क्षेत्रमा भक्तपुर नगरपालिकाले आत्मनिर्भर भई काम गरिरहेको बताए । उनले खेलकुदलाई पनि नगरपालिकाले प्राथमिकता दिँदै आइरहेको जानकारी दिए ।
कार्यक्रममा डा. इवामुरा अस्पतालको आकस्मिक सेवामा कार्यरत डा. विनोद दंगालले जीवनको सफलता विद्यार्थीको मिहिनेतमा भर पर्ने बताए । उनले विद्यार्थीमा कुपोषण बढ्दै गइरहेको उल्लेख गर्दै बढ्दो स्वास्थ्य समस्याको मुख्य कारण खानपिन भएको जनाए । डा. दंगालले विद्यार्थीलाई जङ्कफुडबाट टाढा राख्न सके त्यसले विद्यार्थीको स्वास्थ्यका साथै पढाइमा समेत सकारात्मक प्रभाव पर्ने जानकारी दिए । उनले डा. इवामुरा अस्पतालले विद्यालय– अस्पताल कार्यक्रम गर्ने समेत जानकारी दिए ।
कार्यक्रममा बाल विकासविज्ञ सानू अमात्यले विद्यार्थीको सर्वाङ्गीण विकास गराउने वातावरणयुक्त विद्यालय रोज्न अनुरोध गरिन् । उनले विद्यार्थीको पढाइमा सुधार ल्याउनका लागि अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका उल्लेखनीय हुने भएकाले तीन पक्षबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिइन् ।
बालबालिकामा बढिरहेको मोबाइल मोहले पढाइका साथै करियरमै पनि प्रभाव परिरहेकाले नयाँ पुस्तालाई मोबाइल मोहबाट टाढा राख्ने उपाय अवलम्बन गर्नपर्ने सुझाव दिइन् ।
मोटिभेश्नल स्पिकर तुल्सीहरि प्रजापतिले युग सुहाउँदो, माटो सुहाउँदो शिक्षा दिइरहेको पारागन एकेडेमीले शिक्षाको क्षेत्रमा उल्लेख योगदान दिइरहेको बताए ।
उनले विद्यार्थीलाई रचनात्मक बनाउनका लागि मोबाइलको प्रयोग कम गराउनुपर्ने उल्लेख गरे । उनले सन्तानको भविष्यका लागि अभिभावकले गुणस्तरीय समय दिनुपर्ने बताए ।
मन्तव्यको क्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. कमलराज गोसाईं, यूएसडिएफका अध्यक्ष श्रीराम सुवाल, अभिभावक प्रतिनिधि सुजना बासुकलाले विद्यालयको सफलताको कामना गरेका थिए ।
कक्षागत रूपमा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई एकेडेमीक अवार्डद्वारा सम्मान गरिएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा भएको थियो । सभापति कुसीले विद्यार्थीको प्रगति, शिकहरूको मेहनत र अभिभावकको मायाले विद्यालयले सफलता हासिल गरेको उनले बताए ।
कार्यक्रममा विद्यालयका व्यवस्थापक रत्नवीर किसी, पूर्व विद्यार्थी एन्जल खड्काले धन्यवाद मन्तव्य प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा वर्ष अभिभावक सम्मान गरिएको थियो । उनीहरुलाई विद्यार्थीको पढाइमा चासो, शिक्षकसँगको अन्तरक्रिया, रचनात्मक सुझाव दिएका, शिक्षकसँग परामर्शका आधारमा छनोट गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा ८६ जनालाई एकेडेमिक अवार्ड, ७८ जनालाई स्पोट्र्स अवार्ड, ५५ जनालाई एक्टिब स्टुडेन्ट्स अवार्ड, ३२ जनालाई एसईई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
उक्त विद्यालयमा हाल १ हजार ६३ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा हाल ७५ जना शिक्षकहरु कार्यरत छन् ।