चाँगुनारायण नपा–१ दुवाकोट बेसीमा खानेपानीका लागि बोरिङ कार्य सुरु

24

चाँगुनारायण— चाँगुनारायण नगरपालिका वडा नं. १, दुवाकोट बेसीमा खानेपानीको दिगो समाधानका लागि बोरिङ कार्य सुरु गरिएको छ। उक्त कार्यको अवलोकन गर्न बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ स्थानीय बासिन्दासँगै निरीक्षणमा सहभागी हुनुभएको छ।

बोरिङबाट चाँगुनारायण नगरपालिका वडा नं. १ र ४ को तल्लो बेल्टमा खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ। बोरिङ सम्पन्न भइसकेपछि यस क्षेत्रका स्थानीय बासिन्दाले शुद्ध र भरपर्दो पानी आपूर्ति पाउने विश्वास गरिएको छ।

प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खानेपानीको स्थायी समाधानका लागि स्थानीयस्तरमा भौतिक पूर्वाधारको विकास र स्रोत व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिइरहेको बताउनुभयो। साथै, यस परियोजनालाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र समुदायको सहकार्य आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

स्थानीय बासिन्दाले पनि खानेपानीको पुरानो समस्याको समाधानमा यो बोरिङ परियोजना प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।