भक्तपुर— चाँगुनारायण नगरपालिकाका पर्यटकिय क्षेत्र तथा नगरकोटलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न घोषणा गरिएको नगरकोट भ्रमण वर्ष तथा समग्र चाँगुनारायण क्षेत्रको विकासबारे बागमती प्रदेशका मुख्यमन्त्री सहित सरोकारवालाहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा भएको उक्त छलफलमा मुख्यमन्त्री बहादुरसिंह लामा, बागमती प्रदेशका मन्त्री सुरजचन्द्र लामिछाने, बागमती प्रदेश नेपाली काँग्रेसका मुख्य सचेतक गोविन्द लम्साल, बागमती प्रदेस सभा सदस्यहरु श्रीराम लामिछाने, सुरेश श्रेष्ठ, चाँगुनरायण न.पाका प्रमुख जीवन खत्री लगायत स्थानीय जनप्रतिनिधिहरू, पर्यटन व्यवसायी, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू तथा नगरवासीहरूको उपस्थिति थियो। नगरकोटको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण, यातायात सुधार, होमस्टे तथा होटल व्यवसायको सुदृढीकरण, वातावरणीय संरक्षण तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने विषयमा छलफल भएको बामती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
साथै, चाँगुनारायण नगरपालिकाको समग्र विकासका लागि सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारका क्षेत्रमा लगानी बढाउने विषयमा सुझाव तथा रणनीति तय गरिएको नगर प्रमुख जीवन खत्रीले जानकरी दिनुभएको छ।
मुख्यमन्त्रीले नगरकोट भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारको पूर्ण सहयोग रहने बताउँदै चाँगुनारायण क्षेत्रलाई पर्यटन, सांस्कृतिक सम्पदा संरक्षण र पूर्वाधार विकासको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस छलफलले नगरकोट भ्रमण वर्षलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत निर्णय र समन्वयलाई गति दिने अपेक्षा गरिएको छ।