भक्तपुर, २४ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले वर्तमान् प्रधानमन्त्री केपी ओलाीलाई प्रधानमन्त्रीको धर्म निर्वाह गर्न नसक्ने प्रधानमन्त्री भएको बताएका छन् ।
भक्तपुरको वागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव बिहीबार सम्पन्न कार्यक्रममा उनले सो बताएका हुन् ।
‘भक्तपुरलाई विश्वविद्यालय नदिनु सरकारको ठूलो गल्ती हो । यहाँका नागरिकहरू आफैमा कलाकार र सांस्कृतिक गुरु हुन् । प्रधानमन्त्रीको धर्म निभाउन नसक्ने प्रधानमन्त्री भएका छन् । नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अहिले पनि सक्रिय छन्, सत्तामा बस्नेहरूमा दूरदर्शी सोचको अभाव रहेको छ ।’ उनले थपे, ‘प्रजातन्त्रमा प्रतिपक्षको अलग भूमिका हुन्छ । प्रतिपक्ष बलियो भएन भने प्रजातन्त्र पनि कमजोर हुन्छ । प्रजातन्त्रको मर्म थाहा नहुनेहरू सत्तामा छन् । सिद्धान्तहीन मान्छे विश्वसीनय हुँदैन । पदमा बस्नेहरूको बौद्धिक स्तर मापन गर्नुपर्छ ।’
अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिने विषयमा सरकार अहिले पनि सकारात्मक नदेखिएको बताउँदै सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्नेमा जोड दिए ।
नगरपालिकाले विश्वविद्यालय सञ्चालन गर्न सक्दैन भन्ने सोच खोटपूर्ण रहेको चचौ गदै भक्तपुरका हरेक ठाउँ र यहाँका नागरिकहरू आफैमा विश्वविद्यालयका महत्वपूर्ण पूर्वाधारहरूको रूपमा रहेको उल्लेख गरे ।
नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नयाँ पुस्तालाई भाषिक, साहित्यिक, सांस्कृतिक, प्राविधिकरूपमा दक्ष बनाउनु आजको आवश्यकता भएको बताउँदै सक्षम स्थानीय सरकारलाई जिम्मेवार र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
उनले स्थानीय नगरपालिका र जनसमुदाय मिलेर ईसीडी शिक्षालाई आफ्नोपन दिएर अगाडि बढाउनुपर्नेमा जोड दिँदै विदेशी प्रभावमा पाठ्यक्रमहरू परिमार्जन गर्दै जाँदा नेपालको पाठ्यक्रम र परीक्षा प्रणालीमा ठुलो समस्या निम्तिएको जनाए । संरा अमेरिकामा ट्रम्पको उदयसँगै हिटलरको पुर्नजन्म भएको बताउँदै अमेरिकाले चीनसँग मात्र व्यापार युद्ध गरिरहेकोमा हाल क्यानाडा, मेक्सिकोलगायतका देशहरूसँग पनि युद्ध गरी अमेरिकाले साम्राज्यवादी चरित्र प्रदर्शन गरिरहेको उनको भनाइ थियो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले वागीश्वरीले समाजलाई सही दिशातर्फ मार्गनिर्देश गरिरहेको बताउँदै भक्तपुर नपाले शिक्षा क्षेत्रमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने दीर्घकालीन उद्देश्यका साथ अगाडि बढिरहेको बताइन् । वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले एउटै छानामुनि तीनवटा शैक्षिक संस्था सञ्चालन गरी वागीश्वरी सामूहिक नेतृत्वमा विश्वास राख्ने संस्था भएको बताए । भक्तपुर नपाबाट सञ्चालित सातवटा शैक्षिक संस्थाहरूले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै भक्तपुर शैक्षिक गन्तव्यस्थलको रूपमा विकास भइरहेको बताए ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले विद्यालय शिक्षाको दायित्व सङ्घ सरकारले बहन गर्नुपर्ने बताउँदै विद्यार्थी सङ्ख्या, विषयवस्तुको आधारमा शिक्षक दरबन्दी कायम गर्नुपर्ने बताए । सरकारले संस्थागत विद्यालयलाई मलजल गर्ने काम गरिरहेको बताउँदै विद्यालयहरूमा पर्याप्त शिक्षक र कर्मचारीहरूको व्यवस्था गर्नुपर्ने तथा एसईईलाई निरन्तरता दिइनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपालको शैक्षिक क्षेत्रलाई अगाडि बढाउन वागीश्वरीको महत्वपूर्ण भूमिका रहेको बताउँदै वागीश्वरीबाट उत्पादित विद्यार्थीले समाज, देश र विश्वलाई गरेको योगदानले यहाँको शैक्षिक गुणस्तरको मापन भइरहेको जनाए ।
कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सभापति, वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाण पत्र (क्युएए) प्राप्त गर्ने भक्तपुर जिल्लाको पहिलो सामुदायिक कलेज भएको बताउँदै यससँगै बागीश्वरीमा नयाँ नयाँ विषयहरू अध्ययन अध्यापनको लागि सहजता मिलेको बताए । वागीश्वरी कलेजले विदेशीको सहयोगबिना, सङ्घ र प्रदेशको भर नपरी आफ्नै बलबुत्तामा शैक्षिक विकास गरिरहेको बताउँदै उनले वार्षिक १ लाखको हाराहारीमा नेपाली विद्यार्थी बिदेसिँदा नेपालमा दक्ष जनशक्तिको अभाव हुने बताए ।
कार्यक्रममा वार्षिकोत्सवका संयोजक ज्ञानेन्द्र श्रेष्ठले स्वागत मन्तव्य ,वागीश्वरी पूर्वविद्यार्थी समाजका रत्नप्रसाद प्रजापति, विद्यार्थी प्रतिनिधिहरू मनोज कुटुवा, सगुन धन्छा, काजल थापाले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले बागीश्वरी स्मारिका विमोचन गरेका थिए भने प्रमुख अतिथि तथा अतिथिहरूले शिक्षक र विद्यार्थीहरूलाई पुरस्कार वितरण, सम्मान तथा छात्रवृत्ति प्रदान गरेका थिए ।