हेटौडामा नगरकोट भ्रमण वर्षको प्रचार तथा चाँगुनारायण विकासबारे महत्वपूर्ण छलफल

22

भक्तपुर— नगरकोट भ्रमण वर्षको प्रचारप्रसारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बागमती प्रदेशका मन्त्रीहरू तथा प्रदेशसभा सदस्यहरूलाई भ्रमण वर्षको आधिकारिक लोगो प्रदान गर्दै समग्र चाँगुनारायण क्षेत्रको विकासबारे छलफल गरिएको छ।

बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा बागमती प्रदेश मन्त्रालय साथै प्रदेशसभा सदस्यहरुलाई भ्रमण वर्षको आधिकारिक लोगो प्रदान गर्दै प्रचार प्रसार एवं निमन्त्रण दिइएको हो नगरकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार, प्रवर्द्धन रणनीति, तथा स्थानीय पर्यटन व्यवसायीको भूमिकाबारे उहाँहरुसँग छलफल समेत गरिएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो ।

साथै, चाँगुनारायण नगरपालिकाको समग्र विकासका लागि सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा लगानी बढाउने विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले नगरकोट भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारको पूर्ण समर्थन रहने बताउँदै चाँगुनारायण क्षेत्रको समृद्धि र पूर्वाधार विकासका लागि नीतिगत निर्णय तथा आवश्यक स्रोत साधन परिचालन गर्न प्रदेश राजधानीमा आफूहरु व्यस्त भएको बताउनुहुन्छ ।

नगरप्रमुख जीवन खत्रीले नगरकोट र चाँगुनारायण क्षेत्रको पर्यटन तथा आर्थिक विकासमा स्थानीय सरकारको प्रयास, संघीय तथा प्रदेश सरकारको सहकार्य, र निजी क्षेत्रको संलग्नता आवश्यक रहेको बताउनुभयो।

यस छलफलले नगरकोट भ्रमण वर्षलाई प्रभावकारी बनाउन तथा चाँगुनारायण क्षेत्रको दिगो विकासलाई गति दिन मद्दत गर्ने अपेक्षा गरिएको छ।