इलाममा बाबुको हत्या गर्ने छोरा–बुहारीसहित ६ जना पक्राउ

6

बिराटनगर । इलामको सूर्योदय नगरपालिका–११ सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनराजका छोरा २९ वर्षीय छोरा एडवड राई, उनकी पत्नी २६ वर्षीया मालती तामाङ, उनीहरुका छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निशान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राई रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता मान बहादुर राईले जानकारी दिए।

गत माघ २८ गते बिहान ११:१० बजे धनराज राई आफ्नै घरको भुईतलाको कोठामा मृत अवस्थामा फेला परेका थिए। उनको टाउकोको पछाडी र निधारमा गम्भीर चोट लागेको थियो। घटना स्थलमा फलामको रड, फरुवा र रगत लागेको आग्लो समेत फेला परेको थियो।

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलाम र नेपाल प्रहरी प्रदेश कार्यालय धरान केनाई शाखाबाट विशेष टोली खटाईएको थियो। अनुसन्धानको क्रममा धनराज राईको हत्या भएको तथ्य खुलेपछि प्रहरीले व्यापक रुपमा खोजतलास गरी माघ २८ गते साँझ ५ बजे सुर्योदय नगरपालिका वडा नं. ११ सुन्तलेको विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्न सफल भएको प्रवक्ता राईले बताए।

पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा कार्तिक २८ गतेबाट लागु हुने गरी म्याद थपको लागि जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतबाट ८ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको प्रवक्ता राईले बताए ।