ललितपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूूल्याङ्कनमा ललितपुर जिल्लाका छ वटा स्थानीय तहमा ललितपुर पहिलो स्थानीय तह बनेको छ ।
आर्थिक बर्ष ०८०-०८१ को कार्यसम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्याङ्कनमा कोन्ज्योसोम गाउँपालिकाले ७६.० अङ्क प्राप्त गरी ललितपुर जिल्लाका स्थानीय तहहरुमध्ये पहिलो भएको हो । वित्त आयोगले हरेक वर्ष स्थानीय तहको कार्य सम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्याङ्कन गर्ने गरेको छ ।
ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिका, महाँकाल गाउँपालिका, बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिका गरी छ वटा स्थानीय रहेका छन ।
छ वटा स्थानीय सरकार मध्ये कोन्ज्योसोम गाउँपालिका पहिलो भएको वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको प्रशासनिक नेतृत्व र गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाको राजनीतिक नेतृत्वमा सञ्चालन भएको गाउँपालिकाले गरेका कार्यसम्पादका आधारमा गाउँपालिका ललितपुरमा उत्तकृष्ट भएको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आचार्यले जनप्रतिनिधि र कर्मचारीको मेहेनतको फल क्रमिकरुपमा सार्वजनिक हुँदै गएको बताउनुुभयो । बिगतमा गाउँपालिकाले गरेका कामको नतिजा अहिले भर्खर आउन सुुरु मात्र भएको भन्दै उहाँले आगामी दिनमा यस्तो सकारात्मक नतिजाले अझ बढी उचाइ लिँदै जाने निश्चित भएको विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै कोन्ज्योसोम गाउँपालिकाले आ.व २०८०÷०८१ को स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा ८२.७५ अङ्क र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ७६.५ अङ्क प्राप्त गरी नतिजा सार्वजनिक गरिसकेको गाउँपालिकाले जनाएको छ ।