यो कस्तो प्रजातन्त्र हो ?

18
सत्य राम कासिछ्वा

तिमीलाई सत्तामा पुर्याउने त्यो मताधिकार
जनताको जीवनप्रति किन निष्ठुरी सरकार
यो कस्तो प्रजातन्त्र हो ?

सामान्य जनताको जीवनमा अनेकौं कर
आजीवन सेवा सुविधा पाउने कस्तो रहर
यो कस्तो प्रजातन्त्र हो ?

मताधिकार प्राप्त जनताको सेवामा जरिवाना
तर शक्तिको आडमा हुन्छ अपराधी मिनाहा
यो कस्तो प्रजातन्त्र हो ?

जनताको सेवा सुविधामा कटौतीको लुट
जन्मकैदको अपराधी भ्रष्टचारीलाई छुट
यो कस्तो प्रजातन्त्र हो ?

समानता र समतामूलक समाजको लक्ष्य
बीर सहिदको बलिदानमाथि किन अन्याय
यो कस्तो प्रजातन्त्र हो ?

जनताले उपभोग नगरेको प्रजातन्त्रको लाभ
अभियुक्तले उन्मक्ति पाउने कस्तो शुभलाभ
यो कस्तो प्रजातन्त्र हो ?

राणाको १०४ वर्षे निरंकुशता फालेका जनता यहाँ
अझै पनि दल र कर्मचारी तन्त्रको जहानियाँमा
यो कस्तो प्रजातन्त्र हो ?