जिल्ला प्रहरी परिसर भद्रकालीलाई डिएसएलआर क्यामरा हस्तान्तरण

24

निशा कुस्मा
कागेश्वरी । कागेश्वरी मनोहरा नगरपालिकाले प्रहरीलाई डिएसएलआर क्यामरा हस्तान्तरण गरेको छ । नगरपालिकाले जिल्ला प्रहरी परिसर भद्रकालीका प्रहरी उपरीक्षक अपिलराज बोहरालाई बुधबार सो क्यामरा हस्तान्तरण गरेको हो ।
सोनी ब्रान्डको ए-सेभेन क्यामरा एक थान, एफजेट- सयको ब्याट्री, असी जिभिको मेमोरी, एफई दुई हजार आठ सय ७० एमएमको लेन्स र क्यामरा ब्याग हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जनाकरी दिनुभयो । सो ब्रान्डको क्यामेरा एक सेट खरिद गर्दा छ लाख भन्दा बढीको रकम आवश्यक पर्ने उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी परिसर भद्रकालीका प्रहरी उपरीक्षक अपिलराज बोहराले सबै ठाँउबाट राम्ररी काम गर्न सकेको खण्डमा सामाजिक सुरक्षा लागयत अन्य कार्यहरु सुमधुर रुपमा अघि बढाउन सकिने बताउनुभयो । नगरपालिकले उपलब्ध गराएको क्यामेराले प्रहरीका विभिन्न गतिविधिहरुको प्रचारप्रसारमा टेवा पुग्ने उहाँको भनाइ छ ।
सहयोग रकम सानो भए पनि सहयोगी भावना उत्पन्न हुनु नै ठुलो रहेको उहाँको विचार छ । प्रहरी उपरीक्षक बोहराले भन्नुभयो, ” रकमको हिसाबले केही नभए पनि सहयोगको भावना उत्पन्न हुनु नै ठुलो कुरा हो ।” प्रविधिमा आधारित भएर काम गर्न यस्ता उपकरणहरु आवश्यकता भएको जनाउँदै उहाँले आगामी दिनहरूमा नगरपालिकाले उपलब्ध गराएको क्यामराबाटै कैद गरिएका गतिविधिहरु सामाजिक संजालमा पोस्ट गरिने तर्क दिनुभयो ।
कागेश्वरी नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले प्रहरीलाई क्यामेरा हस्तान्तरण गरि सहकार्यको प्रयास गरेको बताउनुभयो । नगरप्रमुख कार्कीले जनताको सुरक्षाका लागि नगरपालिकाले सुरक्षाकर्मीहरुलाई हेर्नु दृष्टिकोण सधैं सकारात्मक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले सुरक्षाकर्मीलाई हेर्ने दृष्टिकोण अत्यन्त फरक छ । हामीले एकदम सकारात्मक ढंगले जति बढी आधुनिकीकरण त्यति नै हाम्रो नगर, समाजलाई सुरक्षित गर्न सक्छौं भन्ने कुरामा दृढविश्वस्त छौँ । त्यो काम गर्न हामी निरन्तर संवाद गरि यो खालको सहयोग गरिरहेका हुन्छौं ।”
उहाँले सामग्रीको अभावमा समस्या सुल्झाउन धेरै समय खर्चिने कुरालाई मध्येनजर गरि गत वर्ष प्रहरी प्रभाग थलीलाई २५ लाख बराबरको ट्राफिक सामाग्री हस्तान्तरण गरिसकेको समेत जिकिर गर्नुभयो । नगरपालिकालाई उज्यालो र सुरक्षित गर्न ट्राफिक लाइटदेखि सडक बत्ति र सुरक्षाको हिसाबको रूपमा सीसी क्यामेरा राख्ने गरि १८ करोड बराबरको डिपिआर तयार गरि ट्राफिक व्यवस्थापनका हिसाबले उचित छ कि छैन भनेर रिभ्यु गर्न समेत पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो ।